धनगढी: नेपालमा हालै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा नेपालले ५१ स्वर्णसहित २०६ पदक प्राप्त गरेर भारतपछिको दोस्रो स्थान हासिल गर्न सफल भयो । यस प्रतियोगितामा नेपालको सुदूरपश्चिम क्षेत्रबाट सहभागी खेलाडीले मात्र १२ स्वर्ण, ३१ रजत र ३० कास्य पदक दिलाएका थिए ।
सुदूरपश्चिम क्षेत्रबाट एकल र समूहतर्फ गरी ५९ पुरुष तथा महिला खेलाडी सहभागी थिए । यहाँबाट विभिन्न खेलका नौ प्रशिक्षक सागको बन्द प्रशिक्षणदेखि नेपाली टिम प्रशिक्षणमा व्यस्त रहे । खेलकूदमा यस्तो उल्लेखनीय उपस्थिति यसपटक मात्र नभएर अघिल्लो सागमा पनि सुदूरपश्चिम क्षेत्रको रहेको थियो ।
क्रिकेट, कुस्ती, भारत्तोलन, तेक्वान्दो, हक्की, भलिबल, कवड्डी, फुटबल र बक्सिङ खेलका खेलाडी उत्पादनको थलोका रुपमा हेरिएको सुदूरपश्चिम प्रदेशको खेल प्रशिक्षण भने सबैतिर उपलब्ध छैन । तराइका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्र केन्द्रित हुन पुगेको छ । जसका कारण पहाडी जिल्लाको खेलकूद गतिविधि सुनसानजस्तै बनेको गुनासो खेलाडी, खेलप्रेमी र खेलकूद क्षेत्रका अधिकारीहरुको छ ।
यहाँ खेलकूद सञ्चालनका लागि संरचनाको अभाव छ भने प्रशिक्षक अपर्याप्त छन् तर यस क्षेत्रका खेलाडीले खेल्न भने पछि हटेका छैनन् । सुदूरपश्चिम खेलकूद प्रशिक्षण केन्द्रका निर्देशक तथा बक्सिङका ओलम्पियन विष्णुबहादुर सिंहले बैतडी, कञ्चनपुर र कैलाली क्रिकेटका खेलाडी तयार पार्न एक किसिमको ‘हब’ नै भएको बताए ।
“तीन जिल्लाले क्रिकेटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल खेलाडी जन्मायो तर अझै सुदूरपश्चिमले यस खेलको स्थायी प्रशिक्षक पाउन नसक्नु दुःखद् कुरो हो” प्रशिक्षण केन्द्रका निर्देशक सिंहले भने ।
नेपाली क्रिकेटमा परिचित खेलाडी विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, ललित भण्डारी, चन्द्र साउँद, दिलीप नाथ, सञ्जीव जोरा, भीम सार्की, शेर मल्ल, लोकेश बम, धीरेन्द्र चन्द सुदूरपश्चिमले नै उत्पादन गरेका खेलाडी हुन् ।
महिलातर्फ हाल यु–१९ का क्याप्टेन डली भट्ट, अञ्जली चन्द, माया रावत, रोशनी बोहरा, कविता जोशी, विन्दु रावल, सोनु खड्का, रेखा रावल, कविता कुुँवर, रितु कनोजियाँ पनि यसै क्षेत्रबाट उत्पादित राष्ट्रिय खेलाडी हुन् ।
तर राष्ट्रिय खेलकूद परिषद्ले सुदूरपश्चिमलाई अझै स्थायी प्रशिक्षक खटाएको छैन । नेपाल क्रिकेट सङ्घसँग आबद्ध रही १६ वर्षदेखि भीमदत्तनगरमा स्वयम्सेवक प्रशिक्षकका रुपमा कार्यरत वीरेन्द्र शाहीले सुदूरपश्चिमबाट क्रिकेट खेलाडी तयार पार्न क्यानको अहम् भूमिका रहेको बताउछन् ।
उनले क्रिकेटका लागि सुदूरपश्चिम उर्वर भूमि भए पनि राज्यले चासो नदेखाएको गुनासो गरे । प्रदेशमा हरेक वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हँुदा ग्रामीण भेगबाट पनि खेलाडी आइरहेको भए पनि राज्यको खेल प्रशिक्षण अझै शहरमुखी रहेको शाहीको भनाइ छ ।
त्यसैगरी केही समय बैतडीमा स्वयंसेवक प्रशिक्षक रहेका पूर्वखेलाडी दीपेन्द्र चन्द रोजगारीका लागि विदेश गएपछि बैतडी पनि प्रशिक्षकविहीन छ ।
यता कैलालीमा भने गत वर्षदेखि जिल्ला खेलकूद विकास समितिले ज्ञानेन्द्र क्षेत्री र जानकी भट्टलाई क्रिकेटमा करार प्रशिक्षकमा नियुक्त गरेको छ ।
“जिल्लाले आन्तरिक स्रोतबाट पारिश्रमिक दिने गरी क्रिकेट प्रशिक्षक नियुक्त गरेको हो”, सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्लले भने । उनी पनि प्रशिक्षक कञ्चनपुर र कैलाली केन्द्रित भएको गुनासो गर्छन ।
उनले स्पष्ट नीति नहुँदा पनि पहाडी जिल्लामा प्रशिक्षक खटाउन समस्या रहेको बताए । “पहाडतिर खटाएका प्रशिक्षक पहुँचकै आधारमा तराईमै सरुवा आउने प्रवृत्ति बनिसक्यो”, उनले भने । उनका अनुसार पहाड भलिबल, कराते र बक्सिङका खेलाडी उत्पादन हुने ठाउँ भए पनि ओझेलमा छ ।
सुदूरपश्चिमबाट विभिन्न खेलबाट उत्कृष्ट प्रदर्शन गरेका सयौँ खेलाडी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध हुने क्रम बढिरहेको क्षेत्रीय कार्यालय प्रमुख मल्लको भनाइ छ ।
“प्रदर्शन राम्रो गर्नासाथ बेरोजगारी समस्याले विभागीय टिममा खेलाडी गइहाल्छन्”, उनले भने । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा स्थायी र करार गरी ४८ जना प्रशिक्षक कार्यरत छन् ।
पहाडी जिल्लामा कार्यालय भवन स्थापना गरी खेलकूद गतिविधि सञ्चालनको पहल भए पनि व्यवस्थित भने नरहेको मल्लको भनाइ छ । उनले पहाडी जिल्ला दार्चुलामा कराँते र कवड्डी गरी दुई जना, बझाङमा कराँतेको एक जना, बाजुरामा भलिबलको एक, अछाममा कराँतेका एक जना (करार) र डोटीमा तेक्वान्दो र कराँतेको एक÷एक जना तथा बैतडीमा भलिबलको एक जना प्रशिक्षक मात्र रहेका छन् ।
एथ्लेटिक्समा सुदूरपश्चिमभर एक जना मात्र प्रशिक्षक कञ्चनपुरमा कार्यरत छन् भने जुडो, सुटिङ र पौडीलगायतका धेरै खेलमा अझै यहाँ प्रशिक्षक रहेका छैनन् ।
“हालै सम्पन्न साग खेलमा सुदूरपश्चिमका खेलाडीले ल्याएको पदक यहाँको इतिहासमै धेरै हो”, उनले भने । पछिल्लो समय राष्ट्रिय खेलकूद परिषद्बाट पनि यहाँको खेलमैदान र खेलकूद संरचना निर्माणमा अग्रसरता देखिएको उनको अनुभव छ ।
विसं २०६८ मा सुदूरपश्चिममा भएको छैटौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा यहाँ झण्डै साढे छ करोडको खेल संरचना निर्माण भएको क्षेत्रीय खेलकूद विकास समिति धनगढीको भनाइ छ ।
चालु आर्थिक वर्षमा पनि प्याराफिड, क्रिकेट मैदान र पहाडी जिल्लामा खेल मैदान तथा जग्गा खरिदका लागि रु साढे पाँच करोड राखेपबाट विनियोजन भएर काम थालिएको छ । कैलालीमा प्याराफिट र कवर्ड हलको अधुरो काम पूरा गर्ने र कञ्चनपुरमा क्रिकेट मैदान निर्माणको काम शुरु भइसकेको छ ।