काठमाडौं : सुनको मूल्यले बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ । यसअघि पुसमा सबै भन्दा धेरै बढेर तोलाको ७६ हजार ५०० सम्म पुगेको सुनको भाउ फागुन महिनामा फेरि त्यसरी नै बढ्न थालेको हो ।
मंगलबार पनि सुनको भाउ बढेको थियो । आज बुधबार छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेर ७७ हजार १०० रुपैयाँ पुगेको छ ।
यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ४०० रुपैयाँले नै बढेर ७६ हजार ८०० रुपैयाँ पुगेको छ । यस दिन चाँदीको भाउ पनि मंगलबारको तुलनामा बुधबार १५ रुपैयाँले बढेर ९ सय ५ रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ चुलिएपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो ।
कोरोनाका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहँदा लगानीकर्ता सुनतर्फ आकर्षित भएको अनुमान छ । यस्तै, चीन–अमेरिका विवाद अझै पूर्णरुपमा समाधान भइनसकेको, अमेरिका र इरानबीचको बढ्दो विवाद लगायतका कारण सुनको भाउ उकालो लागेको व्यवसायीहरु बताउँछन् ।