काठमाडौँ: विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमणलाई विश्व महामारी घोषित गरेको छ । यो भनेको एक किसिमले विश्वभरि नै स्वास्थ्य आपतकालको स्थिति पैदा भएको कुराको घोषणा पनि हो ।
तर विश्व स्वास्थ्य संगठनले यो कोरोनाभाइरस नियन्त्रण गर्न सकिने खालको महामारी भएको कुरा उल्लेख गर्दै प्रमाणस्वरुप विभिन्न ठाउँहरुमा, अझ विशेष गरेर चीनमा यसको संक्रमण नियन्त्रणमा आउँदै गरेको कुरालाई अघि सारेको छ ।
स्मरणीय के छ भने, चीनको हुबेई प्रान्तको राजधानी ऊहानबाट शुरु भएको कोरोनाभाइरसको महामारी चीनमा त नियन्त्रण हुँदै गइरहेको छ तर त्यसको ठीक विपरीत यस संक्रमणको विस्तार संसारका ९० भन्दा बढी मुलुकहरुमा फैलिइसकेको छ ।
दिनानुदिन यसको संक्रमण नयाँ नयाँ मुलुकहरुमा देखापर्दै गइरहेको छ भने यसै महामारीका कारण मर्नेहरुको संख्या पनि विश्वका विभिन्न मुलुकहरुमा बढ्दै गइरहेको छ । यो समाचार तयार पार्दासम्म मात्रै संसारभरिमा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख २२ हजार २ सय ८९ पुगिसकेको छ भने यसैको कारण मर्नेहरुको संख्या पनि ४ हजार ३ सय ८९ पुगेको छ ।
छोटो अवधिमै यस भाइरसको संक्रमणको विस्तारको तथ्यांक जति भयावह छ, त्यति नै सुखद कुरा के पनि छ भने यस भाइरसबाट संक्रमित भएर निको हुनेहरुको संख्या पनि ६७ हजार ९ जना पुगिसकेका छन् । फलतः यतिखेर ५० हजार ८ सय ९१ जना मात्रै यसबाट संक्रमितको अवस्थामा छन् । निकाे हुन बाँकी संक्रमित मध्ये पनि ४५ हजार १४३ जनामा संक्रमणको मध्यम खालको असर देखिएको छ । यो भनेको ८९ प्रतिशत हो भने ५ हजार ७ सय ४८ जनाको अवस्था चाहिँ गम्भीर छ । यो भनेको ११ प्रतिशत हुन आउँछ ।