काठमाडौँ; कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो ।
उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् ।
कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ भने नेपालमा पनि उच्च जोखिममा छ । तर कोरोना संक्रमणको पुष्टि भएको, मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरु पनि सक्रिय भएको पाइएको छ ।
यस्ता अनर्गल प्रचारबारे नेपाल प्रहरीको ध्यानाकर्षण भएको र दोषीलाई पक्राउ गरी कारबाही गरिने प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताएका छन् ।
पक्राउपछि प्रहरीले किन अफवाह फैलाएको भन्दै बयान लिन थालेपछि मगरले फेसबुक एकाउन्टमा ‘रिच र इंगेजमेन्ट’ बढाउन नयाँ तरिका अपनाएको बताएका हुन्। उनले सामाजिक संजालको दुरूपयोग गर्दै अडिओ मेसेजमार्फत् राजधानी काठमाडौंको अस्पतालमा ६ जनालाई कोरोनाभाइरस देखिएको बताएका थिए।
नेपालमा कोरोना फैलिसकेको भन्दै अफवाह फैलाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।