सुर्खेत: कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकाले एक हजार बेडसहितको
क्वारेन्टाइन स्थापना गर्न लागेको छ।
शुक्रबार बसेको कर्णाली प्रदेशस्तरीय विपद् व्यवस्थापन परिषद र विपद व्यवस्थापन कार्यान्वयन समितिको बैठकले क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको हो।
मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा रहेको विपद व्यवस्थापन परिषदको बैठकले कोरोनाभाइरस संक्रमणको लक्षण देखिएमा मानिसलाई राख्नका लागि पूर्वा तयारीस्वरूप क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो।
तत्काल नेपाली सेनाको सहयोगमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रांगणमा ६०० बेड र रेडियो नेपालको प्रांगणमा ४०० बेड राखेर क्वारेन्टाइन स्थापना गर्न लागेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।
मन्त्री केसीका अनुसार अबको ढिलोमा एक साताभित्र क्वारेन्टाइन स्थापना भइसक्ने छ। जतिसक्दो एक साताभन्दा छिट्टै काम सक्नेगरी शनिबारबाटै क्वारेन्टाइन स्थापनाका लागि काम सुरू भइसकेको मन्त्री केसीले बताइन्।
‘अबको ३/४ दिनभित्र क्वारेन्टाइन स्थापना भइसक्छ, ढिलोमा एक साता लाग्छ,’ मन्त्री केसीले भनिन्, ‘पूर्वसतर्कताका लागि क्वारेन्टाइन स्थापनासँगै अरु पनि धेरै काम गरिरहेका छौं।’
मन्त्री केसीका अनुसार क्वारेन्टाइनका लागि आवश्यक एक हजार टेण्टमध्ये ४०० टेण्ट नेपाली सेनाले नै राख्नेछ।