काठमाडौँ: कञ्चनपुरको गड्डाचौकी नाकामा झिसमिसेमै भारतबाट फर्किने नेपाली आइसकेका थिए । हेल्थ डेस्कमा जाँच हुँदै थियो । केही बेरमै हुलका हुल यात्रु नाकामा आएपछि जाँच पनि अस्तव्यस्त भयो ।
एकैपल्ट ३ हजारभन्दा बढी यात्रु आएपछि जाँच त के भीड नियन्त्रण गर्नै हम्मे भयो ।
कामको खोजीमा भारत पसेकाहरू बिसु पर्व नजिकिँदै गर्दा घर फर्किने पुरानै चलन हो । यस पटक कोरोना (कोभिड–१९) को त्रासका कारण नेपाली कामदार चैते दसैं र बिसु पर्व अगाडि नै घर फर्किएका हुन् । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण देखिएपछि त्यहाँ अध्ययनरत विद्यार्थीसमेत धमाधम फर्किइरहेका छन्।
हेल्थ डेस्क राखिएको स्थानदेखि कञ्चनपुर भन्सारको ब्यारियरसम्मै यात्रुको भीड बढेपछि सुरक्षाकर्मीलाई समेत नियन्त्रण गर्न समस्या भएको थियो । उनीहरूलाई भन्सार कार्यालय परिसरमा राखेर जाँच गरिएको थियो ।