काठमाडौं: सरकारले कोभिड–१९ बाट प्रभावित भएको औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई लाभ दिने उद्देश्यका साथ कर तिर्नुपर्ने म्यादलाई पर सारेको छ ।
आइतबार सकेको मन्त्रिपरिषद् बैठकले विभिन्न कर रकमहरु दाखिला गर्ने म्याद वैशाख २५ गतेसम्मलाई सारेको हो ।
मूल्य अभिवृद्धि कर अन्तर्गत गत फागुनको मासिक, माघ र फागुनको दुई मासिक तथा दोस्रो चौमासिक विवरण र त्यस बमोमिको कर दाखिला गर्नुपर्ने कर आगामी साल वैशाख २५ गतेसम्मको लागि थप गरेको हो ।
यस्तै, आय कर अन्तर्गत फागुनको मासिक तथा माघ र फागुनको दुई मासिक विवरण अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण एवं विवरण बमोजिम कर बुझाउने म्याद वैशाख २५ सम्म दिइएको छ ।
यसैगरी, चैत मसान्तसम्म बुझाउनुपर्ने दोस्रो चौमासिक आय करको विवरण तथा त्यस बमोजिम कर गर्नुपर्ने कर दाखिलाको म्याद पनि वैशाख २५ सम्म पुर्याइएको छ ।
केन्द्र सरकार तथा प्रदेश सरकारले बनाएको कोरोनाविरुद्धको रोकथाम तथा नियन्त्रण कोषमा जम्मा भएको रकमलाई खर्चमा गणना गर्न मिल्नेगरी त्यसमा कर नलाग्ने व्यवस्था पनि सरकारले गरेको छ ।
यस्तै, स्वास्थ्यसम्बन्धी उपकरण आयात गर्दा लाग्ने सबै भन्सार महसुल माफी गर्ने निर्णय पनि भएको छ ।