काठमाडौं: लकडाउनको समयमा भारतसँगको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान कारबाहीमा परेका छन् ।
भारतबाट खाद्यान्न तथा औषधि ल्याइरहेको अवस्थामा सप्तरीको बलान विहुल वडा नम्बर ३ का हरिकृष्ण साह र रामकृष्ण यादवलाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान गणेश चौधरीलाई एक महिनाका लागि निलम्बन गरिएको सशस्त्र प्रहरी क्याम्प सप्तरीका एसएसपी उद्धव न्यौपानेले बताए ।
ती दुई युवामाथि नेपाल–भारत सीमाको बलान खोलामा चैत १६ गते दिउँसो कुटपिट भएको थियो । कुटपिटको भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरीलाई कारवाहीको लागि दवाव परेको थियो । त्यही दवावका कारण सशस्त्र प्रहरी चौधरीलाई कारवाही गर्न बाध्य भएको हो ।
गणेश चौधरीलाई हिजो बेलुका कारवाही गरिएको एसएसपी न्यौपानेले बताए । ‘अहिले एक महिनाका लागि निलम्बन गरिएको हो, घटनाको बारेमा थप छानविन भइरहेको छ, छाविनबाट आउने निष्कर्षका आधारमा थप कारवाही गर्ने कि नगर्ने भन्नेमा निर्णय हुन्छ’ उनले भने ।