काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्न संलग्नहरूलाई जिम्मेवारीमुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्याउने कार्य भएको पनि देउवाले बताएका छन्। सरकारले हालै चीनबाट स्वास्थ्य सामग्री खरिद गरेको थियो।
शुक्रबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीतका कमसल सामग्री खरिदजस्ता आपत्तिजनक र लज्जास्पद घटना कुनै पनि दृष्टिले माफी योग्य नहुने भन्दै खरिदमा संलग्नहरूलाई जिम्मेवारीबाट मुक्त गरेर छानविन गर्न माग गरेका हुन्।
‘अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिदजस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफी योग्य छैन,’ देउवाले भनेका छन्, ‘यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारवाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु।’