काठमाडौँ: अस्ट्रेलिया सरकारले आफ्ना नागरिक तथा पीआरधारीको स्वास्थ तथा रोजगारीलाई प्राथमिकतामा राख्दै भिसा प्रक्रियामा नयाँ परिवर्तन गरेको छ ।
यसबाट अस्ट्रेलिया बस्दै आएका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष कामदार तथा भ्रमण भिसामा गएका अर्थात् अस्थायी भिसावाहक प्रत्यक्ष मारमा पर्नेछन् ।
अस्ट्रेलियाको मानव सेवा, नागरिकता र बहुसांस्कृतिक मामिला मन्त्रालयले अस्थायी भिसामा बसोबास गर्ने झन्डै २१ लाख १७ हजार व्यक्तिमा यो नियम आकर्षित हुने जनाएको छ । अस्ट्रेलियामा महामारीका कारण पार्टटाइमको काम गर्ने अवसरबाट विमुख अन्तर्राष्ट्रिय विद्यार्थीका हकमा भने कुनै सहुलियतको योजना छैन ।
विज्ञप्तिमा उल्लेख भएअनुसार अस्ट्रेलियामा ५ लाख ६५ हजार अन्तर्राष्ट्रिय विद्यार्थी छन् । उनीहरुमध्ये अधिकांश उच्च शिक्षा वा प्राविधिक शिक्षा पढ्दैछन् । पहिलो वर्ष अस्ट्रेलियामा जागिर नगरी बाँच्नसक्ने आधार प्रस्तुत गरेका विद्यार्थीले आफ्नो निर्वाह आफैं गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ । यस्ता विद्यार्थीका लागि संकटको समय सहयोग पुग्ने कुनै कार्यक्रम सरकारले ल्याएको छैन । परिवारसँग पैसा मगाएर निर्वाह गर्न सुझाव दिइएको छ ।
१२ महिनाभन्दा लामो समय अस्ट्रेलिया बसेका अन्तर्राष्ट्रिय विद्यार्थीका हकमा जागिर नपाएर कठिन परिस्थिती निम्तने अवस्था देखिए अस्ट्रेलियामा नियमअनुसार सिञ्चित रकमनिकाल्न पाइने व्यवस्था छ ।