काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन नेपाल वायुसेवा निगमका नेतृत्वलाई निर्देशन दिएका छन्।
अष्ट्रेलियन दूतावासले आफ्ना नागरिकलाई स्वदेश लैजानका लागि गरेको निगमको ‘चार्टर्ड फ्लाइट’मा एजेन्टको रूपमा घुसाइएको भनिएको बोन ट्राभल्सलाई कमिसन बापतको भुक्तानी हाललाई रोक्न मन्त्री भट्टराईले निगम नेतृत्वलाई निर्देशन दिएको मन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
मन्त्री भट्टराईले निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्द र कमर्सियल डिपार्टमेण्टका निर्देशक टंकनिधि दाहाललाई एजेन्टलाई कमिसन बापतको भुत्तानी हाललाई रोक्न निर्देशन दिँदै एजेन्ट घुसाइएको विषय स्पष्ट पार्न निर्देशन पनि दिएका छन्।
मन्त्री भट्टराईले निगमको नेतृत्वलाई बोलाएर विषय स्पष्ट पार्न भनेपछि निगमको वाणिज्य विभागले भने अष्ट्रेलियन दूतावासले नै चार्टर्ड सेवा सहजीकरणका लागि बोन ट्राभल्सलाई एजेन्ट नियुक्तिका लागि लेखेको पत्रको कारण बोन ट्राभल्सलाई ‘एजेन्ट’ तोकिएको जानकारी गराएको थियो।