काठमाडौँ: विश्व बैंकले नेपाललाई दुई करोड ९० लाख अमेरिकी डलर (हालको विनिमय दरअनुसार करीब साढे ३ अर्ब रुपैंया) ऋण सहयोग गरेको छ ।
बैंकले द्रुतमार्गबाट उपलब्ध गराएको यो सहुलियतपूर्ण ऋण पूर्ण रुपमा कोरोनाभाइरस (कोभिड–१९) रोकथामका लागि प्रयोग गरिनुपर्ने बताइएको छ ।
अर्थ मन्त्रालय र विश्व बैंकबीच मंगलबार यो ऋण सम्झौता भएको हो । सम्झौतापत्रमा विश्व बैंकका कन्ट्री म्यानेजर फेरिस हदाद जेरभोस र नेपाल सरकारका तर्फबाट अर्थसचिव शिशिर कुमार ढुङ्गानाले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार, यो रकम कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिद, आइसोलेसन बेड, विश्व स्वास्थ्य संगठनले तयार गरेको ट्रयाकिङ एप विकास लगायतमा प्रयोग हुनुपर्नेछ ।
यसको कार्यान्वयन स्वास्थ्य मन्त्रालयले गर्ने पनि सम्झौतामा उल्लेख छ ।
सार्वजनिक स्वास्थ्य उपचार प्रयोजनका लागि यसको प्रयोग तीनै तहका सरकारले गर्न पाउनेछन् । विश्व बैंकका कन्ट्री म्यानेजर जेरभोसले नेपाललाई कोरोना रोकथामका लागि यो रकमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘बैंकले विश्वभर नै आफ्ना साझेदारहरुलाई सहयोग गरिरहेको छ,’ उनले भने, ‘कोरोनाभाइरसविरुद्धको लडाईमा यो सहयोगले नेपालीको स्वास्थ्यमा केही राहत पुग्ने विश्वास छ ।’
बैंकको रकम जति छिटो काम गरेर खर्च गर्न सकियो त्यति नै धेरै प्रयोग गर्न सकिने सचिव ढुङगानाले बताए । बैंकले कोभिड–१९ रोग रोकथाम गर्न विकासशील राष्ट्रका लागि फाष्ट ट्रयाकबाट रकम निकासा गर्ने व्यवस्था गरेको जनाएको छ ।