काठमाडौँ: २०४८ को पहिलो आमनिर्वाचनमा स्पष्ट बहुमत पाएर पाँच वर्षका लागि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले पार्टीभित्रको आन्तरिक कलहका कारण ०५१ मै देशलाई मध्यावधि निर्वाचनमा लगे ।
मध्यावधिबाट तत्कालीन एमाले सबैभन्दा ठूलो दल बन्यो, अध्यक्ष मनमोहन अधिकारी अल्पमतको प्रधानमन्त्री बने । उनले नौ महिना सरकार चलाउन नपाउँदै कांग्रेस र तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त रूपमा अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाले । राप्रपाकै सहयोगमा कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री बने ।
‘खासमा यहीँबाट सुरु भएको हो देशमा संसदीय विकृति । सांसद खरिद–बिक्री, होटेलमा सांसद राखेर सुरासुन्दरी काण्ड मच्चाउनेदेखि विदेश पठाउनेसम्मको जग यहीँबाट तयार भएको हो,’ त्यतिखेर संसद् र राजनीतिक रिपोर्टिङ गर्ने अहिलेको खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले नयाँ पत्रिकासँग भने ।
देउवा सरकार बनेपछि सरकार बनाउन र ढाल्न हदैसम्मका खेलहरू हुन थाले । सांसदहरूलाई सुरासुन्दरी व्यवस्था गर्नेदेखि किनबेच गर्नेसम्मका खेलहरू भए । सत्तारुढ दलका सांसद सरकारको विपक्षमा उभिने मात्रै होइन, सदनमा मन्त्रीहरू नै सरकारको राजीनामा माग्दै विपक्षी बेन्चमा बस्नेसम्मका खेल देखिए ।
राप्रपा, सद्भावना र स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री भएका देउवाले सरकार बचाउन उस्तै खेल खेलिरहेका थिए । उनले सरकार जोगाउन राप्रपाका केही सांसदलाई बैंकक पठाएर आफ्नोविरुद्ध बहुमत पुग्न दिएनन् । राप्रपाका खोभारी राय, बुद्धिमान तामाङ, विष्णुविक्रम थापासहितका सांसदलाई उनले बैंकक पठाएका थिए ।
त्यति मात्रै होइन, देउवा सरकारविरुद्ध तत्कालीन प्रमुख प्रतिपक्षी एमालेले ल्याएको अविश्वास प्रस्तावमा कांग्रेसकै एउटा खेमाले सघायो । मतदानको समयमा सुशील कोइरालाको निर्देशनमा कांग्रेसका दुई सांसद नाटकीय रूपमा अनुपस्थित भएपछि देउवा सरकार ढल्यो ।
आफ्नै सांसदले धोखा दिएपछि देउवा सरकार ढल्यो । र, तत्कालीन एमालेको सहयोगमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता लोकेन्द्रबहादुर चन्द ०५३ फागुनमा प्रधानमन्त्री बने । एमाले नेता वामदेव गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री बने । चन्द नेतृत्वको सरकार बनाउँदा पनि संसदीय विकृतिको चरम अभ्यास गरियो ।
तत्कालीन एमालेको नेतृत्वमा राप्रपा र एमालेका केही सांसदलाई कुपण्डोलस्थित समिट होटेलमा राखियो ‘सबै सुविधा’ दिएर । होटेलबाहिर एमालेको भ्रातृ संगठन तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका युवाहरूले प्रहरीझँै पहरा दिए, कुनै सांसदलाई बाहिर जान दिएनन् । नेताहरूको निर्देशनमा सांसदहरूलाई सुरासुन्दरीको व्यवस्था गरेको केशव स्थापितले स्वयम् बताउँदै आएका छन् । होटलबाट सांसदहरूलाई एमालेको कार्यालय बल्खुमा पनि लगेर राखिएको थियो ।
होटेलभित्र कतिसम्म अश्लील गतिविधि भयो भने तत्कालीन राप्रपाका वृद्ध नेता जोगमेहर श्रेष्ठले समेत गम्भीर आपत्ति जनाए । यही विषयमा तत्कालीन एमाले नेता राधाकृष्ण मैनालीसँग त उनको झन्डै हात हालाहाल नै भयो । श्रेष्ठको विरोधपछि एमालेले आफ्ना सांसदलाई बल्खुस्थित पार्टी कार्यालयमा लगेर थुन्यो । त्यहाँ पनि प्ररायु संघले नै सांसदहरूलाई पहरा दियो । पार्टी कार्यालयमा समेत टिभी जडान गरेर अश्लील सिनेमा देखाइएको आरोप सांसदहरूले नै लगाए ।
यति खेल गरेपछि एमाले र चन्द समूहको सरकार बन्यो र सरकार बनेपछि खेल रोकिएन । कांग्रेसको साथ लिएर चन्द नेतृत्वको सरकार ढाल्न राप्रपाका तत्कालीन अध्यक्ष सूर्यबहादुर थापा नै सक्रिय भए । सरकारमा मन्त्री रहेका कमल थापा र रवीन्द्रनाथ शर्मासमेत त्यसमा सहभागी भए । संसद्मा कतिसम्म निर्लज्ज ताल देखियो भने बहालवाला मन्त्री थापा र शर्मा विपक्षी बेन्चमा बसेर प्रधानमन्त्रीको राजीनामा मागिरहेका थिए । अविश्वासको प्रस्ताव पास हुने भएपछि तत्कालीन प्रधानमन्त्री चन्दले संसद्मा आफ्नै मन्त्री कमल थापाप्रति कटाक्ष गर्दै भने, ‘मेरो जहाजमा आफ्नै मुसाहरूले प्वाल पारे ।’ यो घटना संसदीय इतिहासमा ‘मुसा–प्रवृत्ति’ भनेर चर्चित छ ।
सरकार बनाउन र भत्काउन गरिने यस्ता निकृष्ट र विकृत अनुभवबाट सिक्दै नेपाली संसदीय प्रक्रिया यहाँसम्म आइपुगेको थियो । तर, सरकारले अहिले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशले फेरि पुरानै ठाउँमा पु¥याएको छ ।
‘५० को दशकको विकृत राजनीतिले संसदीय प्रणालीलाई जति बदनाम र अपमानित गराएको थियो त्यसलाई यति चाँडै बिर्सनुहुँदैनथ्यो । विगतका यस्ता घटना पाठ हुनुपथ्र्यो, तर सरकारले चिहान उधिन्ने काम ग¥यो । पछिल्लोपटक ल्याइएको अध्यादेशले त्यही झल्को दिन्छ,’ सम्पादक गाउँलेले भने ।
यसकारण सान्दर्भिक छ कर्नाटका र मध्यप्रदेशको उदाहरण
भारतको कर्नाटकामा कंग्रेस र जनता दल सेक्युलर मिलेर सरकार चलाइरहेका थिए । तर, गत वर्षको जुलाईमा १४ जना कंग्रेसका र तीनजना जनता दल सेक्युलरका गरी १७ विधायकले अचानक राजीनामा दिए । आफ्नो दलको सरकार अल्पमतमा प¥यो, विकल्पमा भाजपाले सरकार बनायो । यो नाटकीय घटना आधुनिक भारतका लागि नौलो होइन । गोवादेखि मध्यप्रदेशसम्म भाजपाले अहिले यस्तै अप्रेसन चलाइरहेको छ । सत्ता र शक्तिको आडमा विपक्षी दल तोडफोड गर्ने मोदीको शैलीलाई त्यहाँका मिडियाले आधुनिक चाणक्यको खेल भन्दै प्रशस्ती गाइरहेका छन् ।
कर्नाटकको दुई सय २५ सदस्यीय विधानसभामा भाजपाका एक सय पाँच, कंग्रेसका ७८ र जनता दल सेक्युलरका ३७ तथा साना दल र स्वतन्त्र गरी पाँच विधायक थिए । भाजपाले दोस्रो र तेस्रो ठूलो दलका १७ विधायकलाई राजीनामा गराएर जनता दल सेक्युलरका नेता एचडी कुमारास्वामी नेतृत्वको सरकारलाई १४ महिनामै ढाल्यो । त्यसपछि भाजपाका नेता बिएस येदियुरप्पाले सरकारको नेतृत्व गर्दै आएका छन् । विपक्षी कंग्रेसले अप्राकृतिक र फोहोरी खेलबाट भाजपाले सत्ता हत्याएको अभियोग लगाउँदै आएको छ । तर, मोदीको खेल रोक्न सकेको छैन ।
भाजपाले त्यस्तै खेल गत वर्ष महाराष्ट्रमा पनि खेल्यो । निर्वाचनपछि कंग्रेस, एनसिपी र शिव सेना मिलेर सरकार बनाउन तयार भएका थिए । भाजपा स्पष्ट अल्पमतमा परिसकेको थियो । तर, शरद पवार नेतृत्वको एनसिपीलाई फुटाएर भाजपाले आफ्नो नेतृत्वमा सरकार बनाउन खोज्यो । शरदका भतिज अजित पवारको समर्थनमा भाजपा नेता देवेन्द्र फडनविज रातारात मुख्यमन्त्री पनि भए, अजित उपमुख्यमन्त्री बनाइए । उनीहरूले नोभेम्बर २३ मा शपथ लिए, तर बहुमत जुटाउन नसक्ने देखेपछि फडनविजले ८० घन्टामै राजीनामा दिए । अजितका पक्षमा एनसिपीका विधायकले समर्थन नगरेपछि सरकार ढल्यो ।
भाजपाले एनसिपीका केही सांसदलाई लुकाएको, मोटो रकमको अफर गरेको आरोप लागेको छ । कतिसम्म भने भाजपाका पूर्वनेता भगतसिंह कोस्यारीले गभर्नरका रूपमा निष्पक्ष भूमिका निर्वाह नगरी भाजपालाई सहयोग हुने भूमिका निर्वाह गरे । अन्ततः भाजपा र गभर्नरको प्रयास असफल भयो । महाराष्ट्रमा अहिले भाजपा प्रतिपक्ष छ ।
तर, यहीबीचमा मध्यप्रदेशमा पनि कंग्रेस नेतृत्वको सरकार ढालेर भाजपा सरकार बनाउन सफल भएको छ । पाँच साताअघि कंग्रेसका स्थापित नेता ज्योतिराधित्य सिन्धियाले आफ्ना २२ विधायक लिएर भाजपा प्रवेश गरेपछि कमल नाथ नेतृत्वको सरकार ढल्यो । र, भाजपा नेता शिवराजसिंह चौहान मुख्यमन्त्री भए । भाजपाले सिन्धियालाई राज्यसभामा लैजाने तयारी गरिरहेको छ । अहिले सरकार चलाइरहेको भाजपा विधानसभा निर्वाचनमा दोस्रो भएको थियो । तर, केन्द्रीय सत्ताको बलमा प्रदेशमा पनि सरकारमा पुगेको छ । गोवामा पनि भाजपाले यसै गरी सत्ता हत्याएको थियो । त्यही शैली अहिले नेपालमा पनि प्रयोग हुने खतरा छ ।