काठमाडौँ: सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले किसानको बर्खे धान भित्र्याउने बेला भएको र सरकारले समयमै समर्थन मूल्य तोक्नुपर्ने आवश्यकता बमोजिम आव २०७५/०७६ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
जसअनुसार मोटा धानको प्रतिक्विन्टल दुई हजार ३३१ रुपैयाँ २२ पैसा र मध्यम धानको दुई हजार ४६० रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।
धान विज्ञ भोलामान सिंह बस्नेत बस्नेतका अनुसार सरकारले तोकेको बर्खे धानको न्यूनतम समर्थन मूल्य सान्दर्भिक छ तर यसको प्रभाकारी लागू गर्नुपर्छ ।
कृषि मन्त्रालयले धानको बजार भाउ, किसानको लागत तथा अन्य धेरै कुराहरुको मुल्यांकन गरि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरि अन्तिम स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेश गरेको हो ।
उनले भने- ‘सरकारले यसलाई प्रभाकारीरुपमा लागू गर्नसके किसानहरु लाभान्वित हुन्छ । न्यूनतम समर्थन मूल्यले किसानहरुलाई त्यो मूल्य भन्दा कममा बिक्री नगर्न उत्पेरित गर्छ भने बजारमा धानको मूल्य एउटा बिन्दुमा राख्न सहयोग गर्छ’ ।
बजारमा धानको मूल्य घट्न गएमा सरकारले न्यूनतम समर्थन मूल्य अनुरुप किसानसँग धान किन्न सकेमा यसको प्रभाकारी लागू हुने उनि बताउछन् ।
यस वर्ष समयमा वर्ष हुँदा देशभर राम्रो धान रोपाई भएको भन्दै यो वर्ष अहिलेसम्मकै उच्च धान उत्पादन हुने अनुमान गरेको बस्नेत बताउछन् । यो वर्ष ५० लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको उनले बताए ।