काठमाडौँ: खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रश्न उठाउने अवस्थाको अन्त्य हुने बताएकी छिन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजन भएको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले मेलम्च माथि वर्षौंदेखि उठ्दै आएका प्रश्नको बिटमार्ने समय छिट्टै आउने बताइन् ।
उनले आगामी आर्थिक वर्ष मेलम्चीको पहिलो चरणको भौतिक निर्माणको काम सम्पन्न हुने र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको क्षेत्रभित्र मेलम्चीको पानी वितरण गरिने दाबी गरिन् ।
दोस्रो चरणमा उपत्यकाका अन्य क्षेत्रमा र चक्रपथ भन्दा बाहिरको क्षेत्रमा अहिले प्रयोग हुँदै आएको मुहानबाट पानी वितरणको व्यवस्था गरिने बताइन् । उनले आगामी आर्थिक वर्षको सुरुमै मेलम्चीको सुरुङको परीक्षण गरिने समेत बताइन् ।