काठमाडौं:काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बिहीबार कोभिड १९ को माहामारीलाई मध्यनजर गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
२५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रबद्र्धन, आवागमन व्यवस्थापनलगायतमा विशेष केन्द्रित छ।
महानगरभित्र सुविधा सम्पन्न कम्तीमा ५० शय्याको अस्पताल स्थापना गर्ने भएको छ ।
महानगरक्षेत्रभित्र सञ्चालन भइरहेका सम्भाव्य सामुदायिक अस्पतालहरुलाई महानगरको अस्पतालका रुपमा समेत सञ्चालन गर्ने योजना ल्याएको छ ।
काठमाडौँ महानगरपालिकाले नीति तथा कार्यक्रममा कोभिड–१९ प्रतिकार्य योजना तयार गरी काठमाडौं महानगरपालिकामा लागु गर्नुका साथै उपत्यकाका अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यकाव्यापी रुपमा कार्यान्वयनमा लैजान पहल गरिने उल्लेख गरेको छ।
काठमाडौँ महानगरपालिकाले कोभिड–१९ का कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी महानगरभित्र संचालित होटेल, रेष्टूराँ, सपिङ्गमलहरु, डे/नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति लिएको छ ।
महानगरपालिकाको आन्तरिक श्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा विस्तार, करको दर पुनरावलोकन, करको क्षेत्र विस्तार र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।
करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउँदै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाउने महानगरपालिकाको नीति छ ।
महानगरले यसअघि गर्दै आइरहेको मुख्य सडक, बजार तथा चोकहरुमा फुटपाथ व्यवस्थित तथा चौडा गर्ने कामलाई निरन्तरता दिइने भएको छ ।
त्यसका लागि वडा कार्यालयको सक्रियतामा स्थानीय प्रशासनको सहकार्यमा फुटपाथ अतिक्रमण गर्ने कार्यलाई कडाईका साथ नियन्त्रण गरिनेछ उल्लेख छ ।
‘भौतिक दूरी कायम राखी यात्रा गर्न सबैभन्दा सरल र कम खर्चिलो यातायातको साधन साईकल भएको हुँदा महानगरवासीलाई साईकल प्रयोग गर्न प्रोत्साहन गरिनेछ ।
रानीपोखरी र खुलामञ्च बीच तथा तिलगङ्गाबाट पशुपति क्षेत्र जोड्ने अण्डरपास, सोह्रखुट्टे-खुशिंबुँ–नयाँबजार चोक, मित्रपार्क चोक, चाबहिल बौद्ध खण्डमा आकाशेपुल, त्रिपुरेश्वरबाट सानेपा जोड्ने नयाँपुलदेखि टेकु कालिमाटीसम्म बागमती किनारामा फ्लाईओभर तथा अन्य सम्भाव्य स्थानहरुमा फ्लाईओभर, अण्डरपास तथा पूर्वाधारको संभाव्यता अध्ययन, डिजाइन तथा निर्माण गर्न सम्बन्धित संस्थासँग समन्वय तथा सहकार्य गर्ने कुरालाई पनि महानगरपालिकाले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ उल्लेख गरेको छ ।
महानगरपालिकाले ‘समृद्धिको लागि सहकारी अभियान’ लाई सफल पार्न साना तथा मझौला व्यवसायमा संलग्न व्यक्ति वा समूहलाई सहकारीमा आबद्ध गराई आत्मनिर्भर बनाउने नीति लिएको छ ।
‘अनौपचारिक क्षेत्रमा संलग्न महिला, दैनिक ज्यालादारीमा कार्य गर्ने मजदूरहरुलाई सहकारीमा आबद्ध गराउन विशेष कार्यक्रमको ब्यबस्था गरिनेछ,’नीति तथा कार्यक्रममै भनिएको छ,’ ‘तरकारी, फलफूल, घरेलु खाद्य उद्योग, सरसफाई क्याफे तथा रेष्टुरेण्ट, मनोरञ्जन, प्राविधिक, पेशागत शिल्पी, स्वास्थ्य क्षेत्र समेतमा आधारित उपभोक्ता, श्रमिक र उत्पादक सहकारी संस्था प्रबद्र्धनमा जोड दिइनेछ ।’
विषम परिस्थितिमा जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘कोभिड–१९ महामारीले लघु, घरेलु तथा साना उद्योगमा पारेको प्रभावलाई सम्बोधन गर्न रिभल्भिङ फण्डको स्थापना गरी कार्यविधिको आधारमा सहुलियत दरमा ऋण प्रदान गरिनेछ । महामारी विरुद्ध प्रतिकार्यका लागि अध्ययन, अनुसन्धान, आविष्कार गर्न विभिन्न सरकारी, गैर सरकारी संस्थाहरुसँग सहकार्य गरिनेछ ।’
‘महानगरभित्रका विद्यालयहरुको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद्हरू सम्मिलित एकीकृत शिक्षा व्यवस्थापन योजना तर्जुमा समिति गठन गरी शिक्षा योजना तर्जुमा गरिनेछ ।
बाल शिक्षा, प्राथमिक तहको शिक्षा, आधारभूत तहको शिक्षा र माध्यमिक तहको शिक्षालाई विशिष्टिकृत गर्दै लगिनेछ,’ नीति तथा कार्यक्रम सावजनिक गर्दै प्रमुख शाक्यले भने, ‘विद्यालय शिक्षामा नेपाल भाषाको स्थानीय पाठ्यक्रम बनाई लागु गरिने छ । यसरी निर्माण गर्ने पाठ्यक्रममा उपत्यकाको भाषा, रहनसहन, संस्कृति, सम्पदा लगायत नैतिक शिक्षालाई समेत समेटिने छ ।’
सार्वजनिक शौचालय निर्माण, सञ्चालन तथा ब्यबस्थापन निर्देशिका कार्यान्वयनमा ल्याउने र हाल सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरुको मर्मत सम्भार, स्तरोन्नति गर्ने उल्लेख गरिएको छ ।
यसै आर्थिक वर्षभित्र निजी क्षेत्र समेतको सहभागितामा प्रत्येक वडामा कम्तिमा दुई वटा सार्वजनिक शौचालय वडा कार्यालय मार्पmत निर्माण तथा सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माण कार्य यसै आर्थिक बर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
नीति तथा कार्यक्रम अनुसार हनुमानढोका दरबार क्षेत्रमा अवस्थित महादेव पार्वती मन्दिर तथा कुमारी घरको जीर्णोद्वार यसै बर्ष शुरु गरिनेछ।