काठमाडौं : कृषि विकास बैंकले अनलाइन खाता सेवा गत शुक्रबारदेखि सुरु गरेको छ ।
यो सेवा बैंकको सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले संयुक्त रुपमा शुभारम्भ गरेका हुन ।
यो सेवा लिनका लागि भौतिक रुपमा उपस्थिति भइरहनु पर्ने झन्झटलाई अन्त्य गर्दै घरमै बसी खाता खोल्ने व्यवस्था प्रारम्भ गरिएको बैंकका नायव महाप्रबन्धक यज्ञ न्यौपानेले पहिलोक्लिकलाई बताएका छन ।
अनलाइन खाता खोल्नका लागि ग्राहकले अनलाइनमार्फत खाता खोल्न आवशक पर्ने सक्कल कागजात अपलोड गरेका दुई मिनेटमै खाता खोलिने छ ।
यद्यपि तीन महिनाभित्र बैंकको सम्बन्धित शाखामा उपस्थित भइ ती कागजातको प्रमाणीकरण गर्नुपर्ने व्यवस्था भएको न्यौपानेले जानकारी दिए ।
यो खाता खोल्न पासपोर्ट साइजको फोटो, नागरिकताको प्रमाणपत्र तथा इच्छाइएको व्यक्तिको सक्कल कागजातको प्रतिलिपि आवश्यक पर्दछ ।
अनलाइनबाट खाता खोल्नेवित्तिकै कागजात प्रमाणीकरणअघि पनि ग्राहकले न्यून र सीमित कारोबार गर्न सक्नेछन । यस्तो खातामार्फत तत्कालको लागि वा कागजातको प्रमाणीकरण गर्नु पूर्व धेरै रकमको कारोबार गर्न जोखिम हुनेहुँदा सामान्य रुपमा २५ हजारसम्मको कारोबार गर्न सकिनेछ । यस खातामार्फत बत्तीको महसुल, फोन, पानीको शुल्कहरु तत्काल तिर्न पाउने सुविधा छन ।
खातावालाले तिन महिना भित्र बैंकमा उपस्थित भई अनलाइनमा भेरका विवरणको सक्कल कागजातको प्रमाणीकरण गर्नु पर्ने व्यवस्था गरिएको छ जुन काम भैसकेपछि कारोवारको सिमा बढ्ने उनले बताए ।
यस बैंकको पहिलो अनलाइन खाता आश्रा कुँवरले खोलेकी हुन् ।
यतिवेला इन्टरनेटमा सहज महसुस गर्ने सम्पूर्ण युवा वर्गलाई लक्षित गरी सेवा सञ्चालन गरिएको न्यौपानेले बताए ।
देश विदेश जहा कहिँ हुनेले यो सेवा लिइ खाता खोल्न सकिने बैंकका बजार तथा शाखा ब्यबस्थापन विभागका विभागिय प्रमुख अजय रिमालले बताए ।’जहाँबाट जैले पनि अहिले पनि भन्ने नारा दिएर शुरु गरेका छौँ’, उनले भने, ‘यसको सुरुवात गर्न हामीलाई कोभिड(१९ को महामारीले गर्दा प्रविधिको पनि अधिकतम प्रयोग गर्नु पर्छ भन्ने कुरा सिकाएकोले सो सेवा शुरु गरिएको हो ।’
अनलाइन खाता खोल्ने सुविधा दिने कृषि विकास बैंक पहिलो सरकारी बैंक भएको रिमालले बताए ।
यस बैंकका सञ्चयकर्ता ग्राहकको संख्या १२ लाखको हाराहारीमा छन् । यस बैंकको देशभर २८० शाखा छन । खाता खोल्न adbl.gov.np लगइन गर्न रिमालले आग्रह गरे ।