काठमाडौं; सत्तारुढ दल नेकपाको आन्तरिक द्वन्द्व समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज पनि वार्तामा बस्दैछन् ।
पार्टी एकताको मर्मअनुसार अघि बढ्ने समझदारीका साथ वार्ता गरिरहेका दुई अध्यक्षले स्थायी कमिटी बैठकअघि नै आन्तरिक विवाद टुंग्याउने प्रयासमा बैठक स्थगित गरेर अध्यक्षद्वय वार्तामा जुटेका हुन् । अध्यक्ष द्वयको वार्ता सकारात्मक भनिए पनि ठोस समाधान निस्किएको छैन ।
आज हुने वार्ताको समय टुङ्गो लाग्न बाँकी रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले भने, ‘अध्यक्षद्वय आज पनि वार्तामा जुट्नु हुनेछ । कति बेला भन्ने समय नतोकिए पनि वार्ता अघि बढ्नेछ ।’
आज सहमति कायम गरी भोलि स्थायी कमिटी बैठक बोलाइएकाले पनि अध्यक्षद्वयको आजको वार्ता निर्णायक हुने नेकपाका नेताहरूले विश्वास गरेका छन् ।
प्रधानमन्त्री र पार्टीको प्रथम अध्यक्ष ओली सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको समूहले दुवै पदबाट ओलीको राजीनामा गनए दबाब दिएपछि पार्टीमा आन्तरिक विवाद चुलिएको हो ।
अहिले पनि प्रचण्ड पक्षले प्रधानमन्त्रीलाई दुवै पद छाड्द दबाब दिइरहेको । प्रधानमन्त्री ओली कुनै पनि पद नछाड्ने अडानमा छन् ।