पोखरा: नागरिकको दैनिक समस्या समाधानमा अग्रसर हुनुपर्ने जिल्ला प्रहरी कार्यालय स्र्याङ्जा साउन ७ गतेदेखि सिल छ।
जिल्ला कार्यालयमा कार्यरत ३ जना प्रहरी कर्मचारीलाई साउन ६ गते कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको थियो। सामान्य ज्वरो देखिएपछि उनीहरुको साउन ४ गते स्वाब लिएर परिक्षण गर्न पठाउँदा कोरोना संक्रमण पुष्टी भएसँगै कार्यालय सिल भएको थियो।
कार्यालय सिल गर्दा सूचना निकालेर स्याङ्जा प्रहरीले सेवाग्राही नागरिकलाई आफ्ना गुनासा तथा उजुरी इमेलमार्फत पठाउन आग्रह गरेको थियो। कार्यालय सिल भएदेखि नै जिल्ला कार्यालयमा सर्वसाधारणलाई प्रवेश गर्न निषेध गरेको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए।
‘कार्यालयमा कार्यरत सबै प्रहरी कर्मचारीको कोरोना परिक्षण गर्न कार्यालय सिल गरेका हौं,’ उनले भने, ‘प्रहरीबाटै कोरोना नफैलियोस् भनेर सतर्कता अपनाएका छौं।’
कार्यालय सिल गरेर जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत सबै ९८ जना प्रहरी कर्मचारीको स्वाब परिक्षण गर्न पठाएको डिएसपी अधिकारीले बताए।
सोमबार दिउँसो जिल्ला प्रहरी प्रमुखसहित थप १८ जना प्रहरी कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टी भयो। प्रदेश स्वास्थ्य निर्देशनालयले दिउँसो ३ बजे उक्त जानकारी दिएको डिएसपी अधिकारीले बताए।
यससँगै स्याङ्जा प्रहरीमा कोरोना संक्रमितको संख्या २१ जना पुगेको छ। अझै केहीको रिपोर्ट आउनै बाँकी रहेको डिएसपी अधिकारीले बताए। स्याङ्जाका प्रहरी भारतलगायत विदेश र जिल्ला बाहिरबाट आउने नागरिकलाई राख्न बनाइएको क्वारेन्टिन, सिमाना र संक्रमितलाई राखिएको आइसोलेसनमा खटिएका थिए। त्यहींबाट उनीहरुलाई कोरोना लागेको हुन सक्ने डिएसपी अधिकारीले आशंका गरे।
यसैबीच गण्डकी प्रदेशमा सोमबार दिउँसो स्याङ्जा प्रहरीका १८ जनासहित २२ जना कोरोना संक्रमित थपिएका छन्। बाँकी ४ जना संक्रमितमा कास्कीको रूपा गाउँपालिकामा १,माछापुच्छ्रे गाउँपालिका १, लमजुङको मध्यनेपाल नगरपालिकामा १ र दूधपोखरी गाउँपालिकाका १ जना रहेका छन्।
यसअघि सोमबार बिहानको नतिजा अनुसार २ जना संक्रमित भेटिएका थिए। उनीहरु मणिपाल शिक्षण अस्पतालका एक जना डाक्टर र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत एक जना नर्स भएको निर्देशनालयले जनाएको छ।