काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष (नेपाल) चण्डिराज ढकालको नेतृत्वमा गएको महासंघ÷सार्क उवासंघ(नेपाल)को प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली आज छुट्टाछुट्टै भेटवार्ता गरेको छ ।
प्रतिनिधिमण्डलले राष्ट्रपति भण्डारी समक्ष सितलनिवास र प्रधानमन्त्री ओली समक्ष वालुवाटारमा औपचारिक भेटवार्ता गरेको हो ।
उक्त दुवै उच्चस्तरीय भेटवार्तामा प्रतिनिधिमण्डलका तर्फबाट मुलुकभित्र, दक्षिण एशिया सहित चीन लगायतका देशहरूबाट लगानी आकर्षणका लागि अनुकुल वातावरण बनाउनु पर्नेतर्फ जोड दिइयो ।
प्रतिनिधिमण्डलले प्रत्यक्ष वैदेशिक लगानीको प्रवद्र्धन गर्न सरकारका नीतिहरु जटिल नभई सहज हुनु पर्ने तथा नेपालको आर्थिक विकासमा सार्क विकास कोषको लगानी ल्याउन आवश्यक परियोजनाहरू तयार गर्नुपर्ने र सरकारले समेत यसमा आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिइयो ।
नेपाललाई दक्षिण एशिया र चीनको प्रमुख पारवहन हवको रुपमा विकास गर्न सरकारको सशक्त सहयोग भएमा निजी क्षेत्र यसलाई मूर्त रुप दिन तयार रहेको समेत प्रतिनिधिमण्डलले सो अवसरमा जानकारी गरायो ।
यसका लागि नया“ एयरपोर्ट, ठूला राजमार्ग तथा रेलमार्ग, जलमार्ग आदिको निर्माण आवश्यक रहेको र यस क्षेत्रमा काम गर्ने अनुभवी व्यवसायीहरू समेत सार्क उवासंघमा आवद्ध रहेकाले उनीहरूको समेत सहयोगमा सरकारको लक्ष्यलाई पुरा गर्न सकिने हुंदा यस सम्बन्धी आवश्यक सामुद्रिक कानूनको निर्माणमा समेत सरकारको ध्यानाकर्षण गराएको नेउवामहासंघद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।
सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक विकासमा नेतृत्वदायी भूमिकामा रहेर कार्य गर्ने निजी क्षेत्रलाई आफूले सधै उच्च प्राथमिकतामा राखेको बताइन् । सार्कको लगानी नेपालमा ल्याउन तपाईहरुको भूमिका महत्वपूर्ण छ, चीनमा हुने आगामी कार्यक्रम नेपालमा लगानी ल्याउन सफल हुने सम्माननीय राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरिन ।

त्यसैगरी प्रधानमन्त्री ओलीले आफूले निजी क्षेत्रलाई सधै उच्च महत्व दिएको बताए ।
आफ्नो कार्यकालमा सुशासन, समृद्धि र खुशी नेपाली आफ्नो प्रमुख कार्य योजना सुनाउंदै उनले खुशीको सूचकांक बढेपछि मात्र जनता खुशी भएको सही अर्थमा मापन हुने भएकाले आफ्नो नेतृत्वको वर्तमान सरकारको प्रमुख लक्ष्य मुलुकको विकास नै हो भने ।
लगानीको वातावरण बनाउने कार्यमा सरकार निरन्तर लागीरहेको र नेपालको वातावरण लगानी मैत्री भएकाले सार्क उवासंघमा नेपालको प्रतिनिधित्वबाट यस क्षेत्रको नेपालमा लगानी आकर्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिनिधिमण्डललाई सुझाव दिनु भयो ।
सार्कलाई अझ बढी क्रियाशिल बनाउन आवश्यक भएकोमा जोड दिनुहुंदै प्रधानमन्त्रीले सार्कको युवा जनशक्तिलाई सृजनशील र क्रियाशील बनाई यस क्षेत्रको समृद्धि गर्नुपर्ने आवश्यकता समेत औल्याए ।