काठमाडौं : केन्द्रीय बैंकले ब्याजदर करिडोर सम्बन्धी कार्यविधि २०७६ संशोधन गरेको छ । २०७६ सालको कार्यविधिलाई मौद्रिक नीतिमा भएको ब्यवस्था अनुसार दोस्रो संशोधन गरेर २०७७ सार्वजनिक गरेको हो ।
बैंकले नीतिगत दरको रुपमा रहेको रिपो दर घटाएको छ । यसअघि ३.५% मा रहेको रिपो दरलाई ३% मा झारिएको छ । ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा १ साताअवधिको निक्षेप संकलनको दर १% मा झारिएको छ । यसअघि तल्लो सीमा २% थियो ।
यता, कार्यविधिले ब्याज दर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ५% यथावत राखेको छ । राष्ट्र बैंकले गत चैतमा ५.५% सीमालाई घटाएर ५% मा झारेकाले त्यसलाई यथावत राखेको हो ।
करिडोर, बजारमा तरलता अभाव या अधिक बढ्दासमेत ब्याज दरहरु उच्च दरले तल माथि नहोस् भनेर ल्याइएको थियो । तर, केन्द्रीय बैंकले यसलाई कार्यान्वयनमा भने ल्याएको देखिदैन ।