काठमाडौं: साताको पहिलो दिन आइतबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ। अधिकांश समूह गिरावट आउँदा नेप्से परिसूचक ५.६६ अंकले घटेको हो।
कारोबार खुलेदेखि नै घट्न थालेको नेप्से परिसूचक कारोबार बन्द हुने समयमा एक हजार ५५६ अंकमा आएर बन्द भएको छ। यस क्रममा ४३ लाख ५२ हजार कित्ता सेयर किनबेच भई एक अर्ब २५ करोड २७ लाख रूपैयाँ बराबरको कारोबार भएको छ।
आज कारोबार भएका १२ मध्ये व्यापार १३.२ अंक र निर्जीवन बीमा कम्पनी समूह ३१.५८ अंकले सुधार आएको छ। यी दुईबाहेक अन्य १० समूह आज घटेका छन्। त्यसमध्ये विकास बैंक समूह २९.१९ अंकले गिरावट आएको छ।
यस्तै, जीवन बीमा समूह १८.९८ अंक र उत्पादनमूलक समूह १४.४२ अंकले घटेको छ।
परिसूचक घटे पनि आज जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६ रूपैयाँले बढेको छ।
गत साताको बिहीबार नेप्से १.२९ अंकले बढेर १४२ करोड रूपैयाँको कारोबार भएको थियो।
Facebook Comments Box