काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कमिटी विवाद सुल्झाउने विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै विवाद देखिएको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ बीच मंगलबार चार बुँदे सहमति भएको विज्ञप्ति बालुवाटारबाट सार्वजनिक भएपछि खुमलटारबाट भने अर्कै विज्ञप्ति सार्वजनिक गरेको हो ।
बालुवाटारमा चार बुँदे सहमति भएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति सार्वजनिक गरे लगत्तै प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले विज्ञप्ति सार्वजनिक गर्दै सहमति नभएको जनाएका छन् ।
जुगलले प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको तर उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी मात्र भएको दाबी गरेका छन्।
सल्लाहकार थापाले प्रधानमन्त्री ओली र प्रचण्डबीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने, कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री शाहीले हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा मुख्यमन्त्री शाहीले नियुक्त गरेकी सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने, र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय हुने दाबी गरिएको छ।
Facebook Comments Box