काठमाडौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा वैदेशिक रोजगार सञ्चय कोष गठनका लागि कार्यदल गठन गर्ने महत्वपूर्ण कदमको गैरआवासीय नेपाली संघले स्वागत गएको छ ।
गैरआवसीय नेपाली संघले वैदेशिक रोजगारीमा गएका कामदारको हक हितका लागि वैदेशिक रोजगार सञ्चय कोष स्थापना गर्न केही वर्षदेखि अनवरत रुपमा लागि रहेको छ ।
गैरआवासीय नेपाली संघ र कर्मचारी सञ्चय कोष बिच वैदेशिक रोजगारमा रहेका कामदार कर्मचारीहरुलाई कोषको दायरामा ल्याउने सम्बन्धमा २०७३ साल आषाढ १० गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
सो समझदारी पत्रमा भएका शर्त तथा अवस्थाहरुलाई अक्षरस पालन गर्न विगत दुई कार्यकालमा कार्यदल गठन भई आवश्यक काम कारवाही भइरहेको छ ।
साथै गैरआवासीय नेपाली संघको पहलमा कर्मचारी सञ्चय कोष, वैदेशिक रोजगार सञ्चय कोष सञ्चालन नियमावली, २०७३ को मस्यौदा तयार गरिएको थियो । गैरआवासीय नेपाली संघले पटक पटक गरेको पहल अनुरुप आएको मन्त्रालयको यस कार्यदल गठन गर्ने निर्णयबाट निकै उत्साह मिलेको छ ।
हजारे अभियानको नाममा गैरआवासीय नेपाली संघले प्रस्ताव गरेको अभियानलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तदारुकताका साथ निकट भविष्यमा कार्यन्वयनमा ल्याउने अपेक्षा संघले गरेको संघद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।
यस कोषमा गरिएको बचत मार्फत कामदारले भविष्यमा कुनै पनि प्रकारको आर्थिक संकटको सामना गर्नुपर्ने छैन र साथै देशले पनि यसबाट संकलित रकमलाई जलविद्युत, कृषि लगायतका अन्य विकासका क्षेत्रमा लगानी गर्न सक्दछ ।
विदेशी नियोग मार्फत विदेशमा पुनः श्रमस्वीकृति कार्यान्वयनमा लाने, श्रम सीप बैंक स्थापना गर्ने, विदेश स्थित नियोगबाट मागपत्रको अनुगमन गर्ने र अनलाइन प्रणाली मार्फत विभिन्न निकायहरुलाई जोडी कामदार र सरकारी निकाय बीच समन्वय गराउने तर्फ सकारात्मक पहल भएको संघले जनाएको छ छ ।