काठमाडौँ: भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको “लाईफ सपोर्ट सिष्टम” मा राखेर विषेश उपचार प्रयास गरिएपनि उनलाई बचाउन सम्भव नभएको जनाइएको छ ।
एम्सले पत्रकार सम्मेलनमार्फत भनेको छ, “उनलाई वचाउनका लागि एम्सका चिकित्सकको विशेष पहल सार्थक हुन सकेन । उनको साँझ ५ बजेर ५ मिनेटको समयमा निधन भएको छ ।”
भारतीय जनता पार्टीका एकजना संस्थापक नेता वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बनेका थिए ।
उनको एम्समा उपचार भएको थियो । त्यहाँ उनको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो ।
मधुमेहका बिरामी वाजपेयीको गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना गरिएको थियो । उनको मिर्गौलाको सङ्क्रमणलगायत विभिन्न स्वास्थ्य समस्या पनि देखिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गरेका छन् ,
नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयी निष्ठावान, दूरदृष्टियुक्त र देशप्रति समर्पित राजनेता भनेका छन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयीले भारतका जनताको निःस्वार्थ भावले गर्नुभएको उदाहरणीय सेवा र दूरदर्शिताको सधै स्मरण भइरहने उल्लेख गरेका छन् ।
पूर्व प्रधानमन्त्री बाजपेयीको निधनले भारत र विश्वले नै एक उच्च राजनीतिक व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै प्रधानमन्त्रीले शोक सन्देशमा उनि नेपालको शुभचिन्तक र वास्तविक मित्र हुनुहुन्थ्यो भनेका छन् ।