काठमाडौँ: अमेरिकामा बहुप्रतिक्षित राष्ट्रपतीय निर्वाचन आज हुँदैछ ।
नेपाली समयानुसमा आज राति सुरू निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडन प्रतिस्पर्धामा छन् ।
कोरोना महामारीका कारणले धेरै मानवीय क्षति व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक, सामाजिक र विश्व राजनीतिक सम्बन्धलाई कसरी कसरी अघि बढाउँछ भन्ने विषयले यो चुनाव संसारभरको चासोको केन्द्र बनेको छ ।
आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन ।
सन् १९१८ मा देखा परेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीनरुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयसमेत यसै निर्वाचनसँग आएर जोडिएको छ ।
विगतका चुनावमा अनुदारवादी ठानिएको रिपब्लिकन र उदारवादी ठानिएको डेमोक्र्याट पार्टीबीच आप्रवासन, बन्दुक नियन्त्रण, बेरोजगारी, स्वास्थ्य बीमा जस्ता मुद्दामा पेचिलो बहस हुने गरेको थियो ।
तर, यसपटकको चुनावमा कोरोना भाइरस नै केन्द्रबिन्दुमा रह्यो । हुन पनि निर्वाचनको संघारमा आइपुग्दा आठ महिनाको बीचमा दुई लाख ३० हजार अमेरिकीले कोरोना भाइरसका कारणले जीवन गुमाएका छन् भने ९० लाखलाई यो सङ्क्रमणले गाँजेको छ ।
त्यतिमात्र होइन, सप्ताहन्तमा मनोरञ्जनमा धक फुकाएर खर्च गर्ने अमेरिकीहरुको बानीले विश्व अर्थतन्त्रलाई चलायमान बनाउँदै आएकामा अहिले यो चक्र झण्डै रोकिएको अवस्थामा आइपुगेको छ ।
त्यसैले यो निर्वाचनका अहिलेका एजेण्डामध्ये कोरोना र यस महामारीले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा पारेको प्रभाव नै केन्द्रबिन्दुमा छ ।