डोल्पा: चैतदेखि बन्द भएका डोल्पाका विद्यालय खुलेका छन् । कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि खुलेका हुन् । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय खुलाएका छन् ।
त्रिपुरासुन्दरी नगरपालिकाले कात्तिक १२ गतेदेखि खोल्ने गरी नगरपालिकाभित्र पर्ने ३२ वटै विद्यालयमा निर्देशन दिएको थियो । लामो समयदेखि विद्यार्थीको पठनपाठन ठप्प भएको बताउँदै नगर क्षेत्रका सम्पूर्ण विद्यालय खोल्न लिखित पत्राचार गरेको नगरपालिकाले जनाएको छ ।
नगरको निर्देशनअनुसार दुई सातादेखि विद्यालय खुलाइएको वडा नं १ मा पर्ने त्रिपुरा माविका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए ।
सात–आठ महिनासम्म क्वारेन्टिन चलाइएको यस विद्यालय सामान्य सरसफाइ गरेर सञ्चालनमा ल्याइएको उपाध्यायको भनाइ छ । अर्को ठूलिभेरी नगरपालिकाले भने अझै विद्यालय खुलाएको छैन । प्रशासनले खुलेका विद्यालयलाई बन्द ताकेता गर्न थालेपछि ठूलीभेरीका कुनै पनि विद्यालय नखुलाइएको नगरपालिकाले जनाएको छ ।
तल्लो डोल्पामा पर्ने जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पनि विद्यालय खुलेका छन् । दुवै स्थानीय तहले दशैँ बिदाका लागि बन्द भएका विद्यालय खुला गरेर निरन्तर रुपमा पठनपाठन क्रियाकलाप सञ्चालनमा ल्याएका हुन् । उक्त स्थानीय तहले लकडाउन अवधिभर पनि निरन्तर विद्यालय सञ्चालन गरेका थिए । नजिकिँदै गरेको वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालय बन्द गर्ने दुवै स्थानीय तहको तयारी छ ।
त्यसैगरी, उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ् गाउँपालिकाले पनि लकडाउनमा पनि विद्यालय बन्द गरेनन् । अहिले पनि तीन वटै स्थानीय तहले पठनपाठन सञ्चालन गरी धमाधम वार्षिक परीक्षा लिइरहेका छन् । अब छिट्टै नतिजा प्रकाशन गरेर विद्यालय बन्द गर्ने तीनै स्थानीय तहको तयारी छ । उपल्लो डोल्पामा छ महिनामात्र पढाइ हुने भएकाले वैशाखमा खुलेका विद्यालय खुल्ने कात्तिक अन्तिम सातासम्मै बन्द हुने गर्दछन् । काइके गाउँपालिकाले लकडाउन बीचमा विद्यालय खोले पनि प्रशासनले बन्द गर्न निर्देशन दिएपछि बीचमै पठनपाठन रोकेको थियो ।