काठमाडौं : वाणिज्य बैंकहरुको भाउमा उछाल आएपछि आइतबार समग्र सेयर बजारमा रौनकता छाएको छ । खरिदबिक्री रकम र नेप्से सूचक दुवैमा नयाँ कीर्तिमान बनिरहेको छ ।
अधिकांश बैंकको भाउ बढेपछि सूचकले छलाङ मारेको हो । यस दिन करिब दर्जन वाणिज्य बैंकहरुको भाउ सर्किट लाग्ने गरी बढेका छन् । बैंकिङमा उछाल आउने वित्तिकै समग्र बजार सूचकले नयाँ उचाई लिने गर्छ । त्यसो त यसअघि बैंकको भाउ खासै बढेको थिएन । त्यही भएर पनि अहिले रौनक सुरु भएको हो ।
खरिदबिक्री रकमलाई औसतमा हेर्दा प्रतिमिनेट ३ करोड ८४ लाख रुपैयाँ भन्दा बढीका हिसाबले कारोबार भएको देखिन्छ । बजार वियरिस हुँदा दिनभरको कारोबार दैनिक २० करोड भन्दा तल झरेको थियो । अहिले १ मिनेटकै कारोबार झन्डै ४ करोड रुपैयाँ आसपासमा पुग्न लागिसकेको छ । यसले सेयर बजारमा निकै ठूलो उत्साह देखिएको पुष्टि हुन्छ । बजारले फेरि नयाँ रेकर्ड बनाएको हो । नेप्से सूचक र कारोबार रकममा नयाँ रेकर्ड बनेका हुन् ।
अनलाइन प्रविधि प्रयोगका कारण लगानीकर्तालाई सेयर खरिदबिक्रीमा निकै सजिलो भएको छ । घरमै बसेर आफैंले सेयर किनबेच गर्न सक्ने भएका छन् । यसबाट कारोबार रकममा अझै उछाल आउन सहयोग पुगेको हो । ब्रोकरलाई दिइएको नेटिङको सुविधाले पनि कारोबारमा उमंग ल्याउन सहयोग पुगेको हो । खरिद र बिक्री दुवैको हिसाब मिलाएर कारोबारको सेटलमेन्ट गर्ने सुविधा ब्रोकरहरुलाई छ ।
यसैगरी, बैंकहरुले सहजरुपमा सेयर कर्जा दिइरहेका छन् । ब्याजदर सस्तो छ । यसले पनि सर्वसाधारण लगानीकर्ताको आकर्षण सेयर बजारमा थप विस्तार भएको हो । बजारको चक्रीय नियमले पनि बुलिस प्रवृत्तिलाई सहयोग पुर्याएको छ । यस्तो अवस्थामा लगानीकर्ताले धैर्यतापूर्वक अघि बढ्नुपर्छ । सबल वित्तीय सूचक भएका कम्पनीहरु छान्नुपर्छ ।
कोरोनाका कारण लगानीका अन्य क्षेत्र संकुचित भएका छन् । यसले साना–ठूला, नयाँ अनि पुराना सबैथरिका लगानीकर्ता सेयर बजारमा आकर्षित भएका हुन् । यसैगरी हाम्रो बजार करिब ४ वर्षसम्म वियरिस प्रवृत्ति हिँड्यो । लामो वियरिस चक्र पार गरेकाले पनि अहिले बुलिस प्रवृत्तिमा उत्साह थपिएको हो । यस्तै, बजार बढ्दै जाँदा लगानीकर्ताको मनोविज्ञान पनि थप विस्तार भएको छ ।
बजार बढ्छ भन्ने सकारात्मक मनोविज्ञान हावी हुँदा आम लगानीकर्तामा आफ्नो क्षमताले भ्याएसम्म लगानी गर्ने प्रवृत्ति देखिन्छ । यसले पनि बजारमा रौनकता थप्न सहयोग गरेको छ । यसैगरी, कोरोनाका कारण नेपाली बजारमात्र होइन, यतिबेला संसारका सेयर बजारहरु नयाँ उचाईमा पुगेका छन् । त्यसको थोरै भए पनि प्रतिबिम्ब यहाँ पनि देखिएको हो । तथापि, विश्व बजारको नेपाली सेयर बजारमा प्रत्यक्ष प्रभाव भने पर्दैन ।
नेप्से सूचक ७५.०२ अंकले बढेर १९६८.२७ विन्दुमा आइपुगेको छ । २०० कम्पनीको ९ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ करोड ५९ लाख ४५ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ मध्ये ८ समूहको सूचक बढेको छ ।