पोखरा: नेकपा (प्रचण्ड–माधव) सूमहका नेता योगेश भट्टराईले संसद तीन महिनाभित्र पुनर्स्थापित हुने दाबी गरेका छन् । बिहीबार पोखरामा आयोजित कास्कीका जनवर्गीय संगठनको कार्यकर्ता भेलामा बोल्दै उनले संसद ब्यूँतिन पहिलेको जस्तो लामो समय नलाग्ने दाबी गरेका हुन् ।
‘२०१७ सालको संसद विघटनलाई फर्काउन ३० वर्ष लाग्यो । २०६०/६१ सालको संसद फर्काउन तीन वर्ष लाग्यो । अहिले जुन संसद विघटन भएको छ, त्यसलाई फर्काउन ३० वर्ष, तीन वर्ष होइन, बढीमा तीन महिना लाग्छ,’ उनले भने । आफूले बिना आधार नबोलेको नेता भट्टराईले बताए । तर ती आधार के हुन् भन्ने खुलाएनन् ।
उनले समय नबितेको भन्दै प्रधानमन्त्री ओलीलाई गल्ती महसुस गरेर फर्किन सुझाए । ‘समय बितेको छैन, अहिल्यै फर्किनुस् । दुई/तीन वर्षपछि फर्किँदा समयले तपाईंलाई साथ दिँदैन,’ उनले भने । निर्वाचन आयोगले दलसम्बन्धी व्यवस्था अनुसार आफूहरुलाई चुनाव चिन्ह सूर्य दिनेमा ढुक्का रहेको नेता भट्टराईले बताए ।
प्रधानमन्त्रीले आफूलाई मात्रै नभई देशलाई नै प्रतिगमनतर्फ धकेलेको उनको भनाइ छ ।
‘प्रतिक्रियावादी हसाउने, आफ्नालाई रुवाउने यो कस्तो निर्णय हो ?,’ उनले अघि भने, ‘ पार्टीका सबै नेता/कार्यकर्ता दुखी छन्, भावुक छन्, निराश छन् ।’
उनले अहिले शक्ति भएकाले प्रधानमन्त्रीलाई भारतीय नेत्री इन्दिरा गान्धीको जस्तै उन्माद चढेको आरोप लगाए । ‘इन्दिरा गान्धीले संसद विघटन गरिन् । त्यसपछि उनको पत्तासाफ भयो,’ नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्दिरा गान्धीको इतिहास पढ्न सुझाउँदै भने, ‘अहिले प्रधानमन्त्रीलाई सत्ता र शक्तिको उन्माद चढेको छ । पार्टीमा हुँदा पार्टीको महत्व बुझ्नुभएको छैन, जुनदिन महत्व बुझ्नुहुन्छ त्यो दिन उहाँ पार्टीमा हुनुहुने छैन ।’
आफू एकलौटी निर्णय गर्ने प्रधानमन्त्रीले सरकारलाई काम गर्न नदिएको भनेर प्रधानमन्त्रीले आफ्नो गल्ती लुकाउन खोजेको नेता भट्टराईले टिप्पणी गरे । कुनै विषयमा असहमति भए त्यसको विकल्प संसद विघटन नभएको जिकिर गरे ।