काठमाडौँ : युवा जागरण अभियानले संवैधानिक व्यवस्थाअनुसार तत्काल वित्तीय आयोग गठन गर्न माग गरेको छ ।
अभियानका अध्यक्ष चिन्तन पौडेलको नेतृत्वमा आज साँझ अर्थमन्त्री डा युवराज खतिवडालाई सिंहदरबारमा भेटेर संविधानले व्याख्या गरेको तीन तहको आर्थिक क्षेत्रलाई व्यवस्थित बनाउन वित्तीय आयोग गठन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा खतिवडाले सरकार आर्थिक क्षेत्रलाई व्यवस्थित गर्न वित्तीय आयोग निर्माणको तयारीमा जुटिरहेको बताए । “सरकार कर क्षेत्रलाई व्यवस्थित गरी कर छली नियन्त्रण गर्न लागिरहेको छ,” उनले भने ।
मन्त्री खतिवडाले भन्सार क्षेत्र र ठूला व्यापारीलाई करको मात्रा बढे पनि साना व्यापारीलाई धेरै कर नलागेको भन्दै बढेको कर फिर्ता नहुने स्पष्ट परे । मन्त्री डा खतिवडाले प्रदेश र स्थानीय तहले कानूनले तोकेभन्दा बढी कर लिन नपाउने उल्लेख गरे ।
अर्थमन्त्री डा खतिवडाले मुलुकमा भइरहेको भ्रष्टचार, महँगी र कालोबजारी नियन्त्रणका लागि युवाहरुको साथ सहयोग आवश्यक रहेको भन्दै सबैलाई साथ दिन आग्रहसमेत गरे ।