काठमाडौँ: कारोबारमा आएका अधिकांश कम्पनीको शेयरमूल्य घट्दा शेयर बजार परिसूचक मापक नेप्से आइतबार ३.१२ प्रतिशत अर्थात ७९.७४ अंकले घटेर २ हजार ४७४ दशमलव ३९ अंकमा झरेको छ ।
कोरोना भाइरस संक्रमणका कारण लगानीका अन्य क्षेत्रहरु खुम्चिएर बैंकिङ्ग प्रणालीको ब्याजदर न्यून भई सबैतिरबाट शेयर बजारमा भित्रिएको पार्किङ्ग मनि बाहिरिन थालेसँगै एकपछि अर्को दिन नेप्सेको घट्ने क्रम बढेको हो । बिहीबार ४४ अंकले घटेको नेप्से आइतबार ८० अंकले घटेको छ ।
आइतबार २०७ कम्पनीका १ करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर ९६ हजार १५१ पटक खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८१४ पुगेको हो ।
कारोबारमा आएका चार कम्पनी र म्युचुअल फण्ड र डिबेञ्चर सहित जम्मा ११ कम्पनीको शेयरमूल्य बढेको आजको बजारमा होटल तथा पर्यटन उपसमूहको सूचक बाहेक सबै उपसमूहका सूचक ऋणात्मक रहे ।
यसदिन नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को शेयरमूल्य साढे ६ प्रतिशतले घट्दा सो कम्पनी आवद्ध लगानी उपसमुहको सूचकमा पनि ४.१३ प्रतिशतको गिरावट आएको छ । अन्य, उत्पादनमुलक, जीवन बीमा, जलविद्युत र लघुवित्तको सूचक पनि ३ प्रतिशतभन्दा धेरैले घटेका छन् ।