काठमाडौँ: सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधरणका लागि चैत ६ गतेबाट प्राथमिक शेयर जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधरणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले दोस्रो चरणमा कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेकोमा जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधरणमा बाँडफाँड हुनेछ ।
यसअघि हाइड्रोले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । उक्त शेयरको बाँडफाँड समेत भइसकेको छ ।
कम्पनीको आइपीओमा छिटोमा चैत ६ गतेदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा चैत २० गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।
आइपीओमा न्युनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ।
सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।
धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) जारी गर्नका पुस २१ गते मंगलबार अनुमति दिएको थियो ।
सिंगटी हाइड्रोपावरले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ । आयोजनामा लाग्ने कुुल लगानी चार अर्ब ३३ करोडमध्ये आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।