काठमाडौँ: यस वर्षको महाशिवरात्रि पर्व यही फागुन २७ गते बिहीबार मनाइँदै छ । पर्वका अवसरमा काठमाडौँस्थित पशुपतिनाथ मन्दिर र देशभरका शिवालयहरूमा भक्तजन तथा साधुसन्तहरूको भिड लाग्छ ।
पशुपति क्षेत्र विकास कोषले शिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि सबै तयारी पूरा भएको जनाएको छ ।
कोषले ११ वटा उपसमितिहरू बनाएर महाशिवरात्रि पर्व व्यवस्थापनको काम गरेको छ । पशुपतिनाथ मन्दिर क्षेत्रमा करिब ८ लाख भक्तजन आउने कोषको अनुमान छ । भक्तजनको व्यवस्थापन र सुरक्षाका लागि नेपाल प्रहरीबाट ७ हजार र सशस्त्र प्रहरी बलबाट ३ हजार सुरक्षाकर्मी खटाइने कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए ।
कोभिडको जोखिम कायमै रहेकाले दर्शन गर्न आउने भक्तजनलाई अनिवार्यरूपमा मास्क लगाएर आउन पनि उनले अनुरोध गरेका छन् ।
‘लाखौँको संख्यामा भक्तजन आउने हुँदा कोभिड सम्बन्धी स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ’ मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मास्क अनिवार्य लगाउनुपर्छ, नलगाएको पाइएमा मन्दिर प्रवेश गर्न दिइने छैन ।’