काठमाडौँ: सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि शुक्रबार ( चैत ६ गतेबाट ) देखि प्राथमिक शेयर जारी गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गरेको हो । कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरिएको हो । जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओमा लगानीकर्ताले चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था रहेपनि उच्च आवेदनका कारण १० कित्ता शेयर नै गोलाप्रथाबाट प्राप्त गर्ने अवस्थाले १० कित्ताका लागि १ हजारको आवेदन नै यस आईपीओमा प्रयाप्त हुनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ ।
यसअघि हाइड्रोले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अतिप्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । उक्त शेयरको बाँडफाँड समेत भइसकेको छ ।
सर्वसाधारणको आईपीओ बाँडफाँडपछि कम्पनीमा संस्थापक र सर्वसाधारणको पूँजी संरचना ७०ः३० हुनेछ ।