काठमाडौँ: यस साता शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्सेसाथै कारोबारमा गिरावट आउदा लगानीकर्ता निराश भएका छन् ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलब ८४ अंकले घटेर अन्तिम दिन १ हजार १७८ दशमलब ५० कायम भएको छ ।
यस साता व्यापार समूह बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । सबै भन्दा बढी जीवन बीमा र निर्जीवन बीमासमूहको परिसूचकमा क्रमश: १७० दशमलब ९५ अंक र ९० दशमलब ६१ अंकले घटेको छ ।
त्यसैगरी, उत्पादन समूहमा ६४ दशमलब १७ अंक, लघुवित्त २६ अंक, जलबिधुत २८ दशमलब ०८ अंक, होटल १७ दशमलब २८ अंक, विकास बैंक १६ दशमलब ५८ अंक, बाणिज्य बैंक १५ अंक, बित्त ४ दशमलब ५१ अंक र अन्य शुन्य दशमलब ३३ अंकले घटेको छ ।
यधपी, ब्यापार समूहको परिसूचक भने दुई दशमलब ९५ अंकले वृद्धि भएको छ ।
नेप्से परिसूचकमा सँगै कारोबार रकममा पनि गिरावट आएको छ। कारोबार रकम गत साताको भन्दा १७ दशमलब ८४ प्रतिशतले कमि आएको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १८५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १६ हजार ६२० कारोबारबाट एक अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैयाँ बराबरका ४४ लाख २१ हजार नौ सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।
गत साता १८५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २२५२० कारोबारबाट एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरका ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३.५४ अंकले घटेर २४८.९९ अंकमा आईपुगेको छ ।
यस साता कारोबार रकम (छ करोड ६१ लाख ६० हजार रुपैयाँ) को आधारमा एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख १३ हजार कित्ता) को आधारमा एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (५७९ वटा) को आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
त्यसैगरी, यस सात नेप्सेमा बिभिन्न कम्पनीका बोनस शेयर, हकप्रद शेयर, प्राथमिक र थप निष्काशन गरि कूल ५ करोड ६९ लाख १० हजार ६२८ कित्ता धितोपत्र शुचिकृत भएका छन् ।
