काठमाडौं: सीईडीबी धितोपत्रको प्रारम्भीक सार्वजनिक निष्कासन गरेर नेप्सेमा सूचिकृत भइ कारोबार खुलेको पहिलो दिनमा नै सकारात्मक सर्किट लागेको छ । मंगलबार नेप्सेमा सूचिकृत भएर आजबाट कारोबार खुलेको कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले कम्पनीको सेयर पहिलो कारोबारका लागि १३८ रुपैयाँ देखि ४१६ रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको थियो । जसअनुसार कम्पनीको सेयर ओपनिङ रेञ्जको उच्च बिन्दु ४१६ रुपैयाँमा कारोबार खुलेको थियो ।
नेप्सेका स्पेशन प्रि–ओपनिङ सेसनमा ४१६ रुपैयाँमा ५० कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य ४१६ रुपैयाँमा खुले पनि अहिले ४१ रुपैयाँले बढेर सर्किट मूल्य ४५७ पुगेको छ । सर्किट मूल्यमा ५ लाख ७२ हजार ३३९ कित्ता सेयर खरिद अर्डर छ भने बिक्री अर्डर शून्य रहेको छ ।
यता, सेयर बजारमा पनि सेयर कारोबारको लागि उच्च आकर्षण रहेको छ । ३००० अंकको ऐतिहासिक उचाई पार गरेर फर्किएको नेप्से १२ बजेर ४ मिनेट जाँदा १०.४० अंकले बढेर २९७०.५४ अंकमा रहेको छ ।
उक्त अवधिमा ६ अर्ब ३ करोड ८६ लाख ४१ हजार रुपैयाँको १ करोड ४ लाख ५२ हजार ४३१ कित्ता सेयर किनबेच भएको छ । कारोबार खुलेको पहिलो एक घण्टामा नै ६ अर्ब कारोबार पुगेको पहिलो पटक हो ।
विकास बैंक र वित्त कम्पनीको सेयर खरिदबिक्रीमा उच्च चाप देखिएको छ भने बजार परिसूचकमा पनि तिव्र चतारचढाव रहेको छ ।