काठमाडौं: काठमाडौं महानगरपालिकाले विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न पार्किङ शुल्क छुट दिने भएको छ। आगामी बर्ष (२०७८/०७९) भरि महानगरपालिकाको पार्किङ स्थलमा विद्युतीय सवारी साधनमा पूरै छुट दिन लागेको हो।
महानगरका मेयर विद्यासुन्दर शाक्यले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गर्ने पनि उल्लेख गरेका छन्। काठमाडौं महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पार्किङ शुल्कमा छुट दिन लागिएको जानकारी दिए। उनका अनुसार महानगरपालिकाले प्रस्ताव गरेको भएपनि नगरसभाले स्वीकृत गर्न बाँकी छ।
महानगरपालिकाले न्यूरोड,धर्मपथ,कान्तिपथ,दरबारमार्ग लगायतका भित्री शहरी क्षेत्र र त्रिपुरेश्वर,रत्नपार्क,भोटाहिटी,केशरमहल तथा लैनचौरसम्मको सार्वजनिक बाटो लगायतका तोकिएका स्थानमा सवारी पार्किङ गर्दा शुल्क लिने गरेको छ। दुई पांग्रे सवारी साधनको प्रति घण्टा २५ रुपैयाँ र चार पाँग्रे सवारी साधनको घण्टाकै ८० रुपैयाँ तोकेको छ।
राजस्व महाशाखा प्रमुख डा. शिवराज अधिकारीले आगामी बर्ष विद्युतीय सवारीसाधन सम्वन्धी व्यवसायमा लाग्ने व्यवसाय कर समेत शतप्रतिशत छुट दिन लागिएको बताए। उनका अनुसार महानगरपालिकालामा करिव १० वटा यस्ता व्यवसायहरु दर्ता छन्। जसले बार्षिक रुपमा ३० हजार देखि ५० हजार रुपैयाँसम्म व्यवसाय कर तिर्दै आएका छन्। ‘धेरैले दर्ता गर्न सुरु गर्न लागेका छन्। उनीहरुलाइ प्रोत्साहन होस भनेरै कर छुट दिन लागिएको हो,’ उनले भने।
संघीय सरकारले बजेटमार्फत विद्युतीय सवारीसाधनलाइ प्रोत्साहन गर्न अन्त:शुल्कमा पूरै छुट र भन्सार घटाएको थियो। आगामी बर्षका लागि सरकारले ल्याएको बजेटमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने हलुका सवारी साधनलाई २०८८ सम्ममा विद्युतीय सवारी साधनले विस्थापित गर्ने रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गरिने उल्लेख छ।