काठमाडौँ:
सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई साउन २५ देखि लागु हुने गरी कामु भई प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
प्रधानसेनापति पूर्णचन्द्र थापा साउन २५ देखि बिदामा बस्दैछन् । अवकाश प्राप्त हुनु एक महिनाअघि बिदामा बस्ने प्रचलन अनुसार उनी बिदामा बस्न लागेका हुन् । उनी बिदामा बसेपछिका लागि सरकारले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
४३ औं प्रधानसेनापति पूर्णचन्द्र थापाले जेठ २३ मै पत्रकारहरुलाई साक्षी राखेर नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए । त्यसको करिब दुई महिनापछि अर्थात् साउन २४ बाट उनी बिदामा बस्दैछन् ।
नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रुपमा रथी प्रभुराम शर्माले नेतृत्व लिँदैछन् । युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा सेनाभित्र ‘मिलनसार’ अधिकारीको रुपमा चिनिन्छन् । शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हालेका छन् ।