काठमाडौँ:
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशव बडालले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छोडेर नजान आग्रह गरेका छन् । उनले एकताको लागि पर्याप्त आधार भएकोले घनिभूत छलफल गरेर पार्टी एकताको लागि नै लाग्नुपर्नेमा जोड दिए ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता बडालले भने,‘यसअघि एकताको लागि बनेको कार्यदलको दश बुँदे प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको छ। यो नै एकताको आधार हो । तपाईँले एमाले छोड्दै हुनुहुन्छ भन्ने हल्ला व्यापक छ, त्यो सत्य नहोस् । ३८ वर्षसम्म तमाम दुःख गरेर तपाईँसँगै एउटै कमिटीमा बसेर काम गरेको एक जना सदस्यको रुपमा भन्न चाहन्छु–त्यस्तो गलत काम नगर्नुहोस् ।’
उनले माधव नेपालले आफ्नै पार्टीलाई कमजोर पार्ने काम गरेको र त्यो ठूलो अपराध भएको पनि टिप्पणी गरे । नेपाललगायत नेताहरुले पार्टीको विधान र नीतिविपरीत गतिविधि गरेकोले उनीहरुलाई कारबाही गर्ने पर्याप्त आधार हुँदाहुँदै पनि आफूहरुले एकताको लागि कारबाही नगरेको उनको भनाइ थियो ।
नेता बडालले अब पार्टीलाई एकताको नाममा अल्झाएर राखिरहन नहुने भएकोले आवश्यक गतिविधि अघि बढाउनैपर्ने भएकोले सोहीअनुसार कामकारबाही अघि बढाइएको जिकिर गरे ।