काठमाडौँ: सोमबार नेप्से सूचक सामान्य बढेको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा झण्डै ५ अर्ब रुपैयाँले घटेको छ। सोमबार नेप्से सूचक ५.७५ अंकले बढेर ३१६०.०९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.५६ अंकले बढेर ५९२.९३ विन्दुमा पुगेको छ।
यस दिन कारोबार रकम भने आइतबारको तुलनामा ५ अर्ब रुपैयाँभन्दा धेरैले घटेको छ। सोमबार १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९३७ रुपैयाँ बराबरको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर खरिद बिक्री भएको छ।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूहको सूचक बढेको छ भने ५ वटा उपसमूहको सूचक घटेको छ। अन्य उपसमूह भने स्थिर छ।
मौद्रिक नीतिपछि आइतबार उतारचढाव देखिएको बजार सोमबार भने खासै धेरै उतारचढाव देखिएन। यस दिन कारोबार समयमा बजार केही नकारात्मक देखिए पनि अन्त्यमा सकारात्मक भएर बन्द भएको छ।
यस दिन ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेश्नल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिद्धि हाइड्रोपावर जीवन विकास लघुवित्तका र खानिखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने रुरु जलविद्युत र हिमालयन उर्जाको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
सोमबार आइसिएफसि फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६.२७ प्रतिशतले घटेको छ भने माउन्टेन इनर्जिको ५.३३ प्रतिशत, युनियन लाइफको ४.५३ प्रतिशत,ङादी ग्रुप पावरको ४.३३ प्रतिशत र एसविआई बैंकको ३.४१ प्रतिशतले घटेको छ।
यस दिन नेश्नल हाइड्रोपावरको सबैभन्दा धेरै ७४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल बैंकको ६४ करोड ७० लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको ५४ करोड ८४ लाख, ङादी ग्रुप पावरको ४८ करोड ४८ लाख र अपि पावरको ४७ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।