काठमाडौँ:सरकारले पूर्णता पाउन अझै कम्तिमा दुई साता लाग्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद विस्तार हुन नसक्दा गठबन्धनमाथि प्रश्न उठिरहेका बेला सरकार विस्तार अझ दुई साता पछाडि धकेलिएको हो ।
असार अन्तिम साता प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले चाहेर पनि चाँडै आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन नसक्ने भएका हुन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीचको पछिल्लो छलफलमा समेत कम्तिमा दुई साता मन्त्रिमण्डल विस्तार नगर्ने समझदारी भएको छ ।
बिहीबार बिहानै बालुवाटारमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले (समाजवादी) पार्टीका संयोजक माधवकुमार नेपालबीच सरकार विस्तारबारे छलफल भएको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त छलफलमा अझै कम्तिमा दुई साता मन्त्रिपरिषद विस्तार नगर्न नेताहरु सहमत भएका हुन् ।
सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरुको आन्तरिक किचलोका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई हुँदै आएको छ । गठबन्धनमा रहेका पार्टीहरुमध्ये जसपाको महन्थ ठाकुर पक्ष र एमालेको माधव समुहले बुधबार मात्रै फरक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।
निर्वाचन आयोगले उनीहरुको आधिकारिकताबारे छिनोफानो नगरी मन्त्रिपरिषदलाई पनि पूर्णता दिँदा पछि पुन समस्या हुनसक्ने भएकाले आयोगको निर्णयअघि मन्त्रिपरिषदलाई पूर्णता नदिन गठबन्धनबीच समझदारी भएको हो ।