काठमाडौँ:
गैर आवासीय नेपाली संघ (एनआरएनए) को दसौं विश्व सम्मेलन आगामी कात्तिक ६ देखि ८ गतेसम्म काठमाडौंमा हुने भएको छ।
सम्मेलन आयोजनाका लागि परराष्ट्रमन्त्री अध्यक्ष रहेनगरी २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै यो जानकारी गराएको हो। प्रत्यके दुई वर्षमा एनआरएनएको सम्मेलन हुँदै आएको छ।
समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, गैर आवासीय नेपाली संघ लगायत अन्य सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधि सदस्य छन्।
गैर–आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन २०७६ साल असोज २८–३० मा काठमाडौंमा भएको थियो।
विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पुँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको आर्थिक–सामाजिक विकासमा परिचालन गर्ने सरकारको उद्देश्यमा सम्मेलनले सहयोग पुर्याउने अपेक्षा परराष्ट्र मन्त्रालयले गरेको छ।