काठमाडौँ:
नेकपा एमाले फुटाएर माधवकुमार नेपाल पक्षलाई सत्तामा ल्याउने प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चाहना अब करिब पूरा भएको छ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा सनाखत पूरा भएसँगै देउवाले प्रधानमन्त्री भएको करिब डेढ महिनापछि मन्त्रिपरिषद् विस्तार गर्ने अपेक्षा गरिएको छ।
असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले साउन ३ मा विश्वासको मत लिएका थिए। असार २९ मै माओवादीबाट दुई र कांग्रेसबाट २ मन्त्री नियुक्त गरेका उनले साउन १० मा मन्त्रिपरिषद् विस्तार गर्दै व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए।
त्यसयता देउवाले ६ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गरिरहेका छन्। कोरोनाले देशका हरेक क्षेत्रमा जोखिमपूर्ण अवस्था ल्याएका बेला देउवा आफैंले करिब २० मन्त्रालयको जिम्मेवारी लिएर बसेका छन्।
अर्थ, गृह, ऊर्जा र कानुन मन्त्रालयको काम अघि बढ्दा अरु सबै मन्त्रालयले नयाँ मन्त्रीको प्रतीक्षामा डेढ महिनादेखि बसिरहेका छन्। स्वास्थ्यमा उमेश श्रेष्ठले राज्यमन्त्रीको हैसियतामा काम गरिरहेका छन्।