काठमाडौँ:
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो।
प्राधिकरणले सम्पादन गरेर बाँकी रहेका कामहरू सम्बन्धित निकायबाटै हुने गरी हस्तान्तरण गर्ने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।
जसअनुसार विपद् व्यवस्थापनसम्बन्धी बाँकी कामहरूलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सम्पन्न गरिनेछ।
त्यसैगरी, अन्य निकाय सहरी विकास मन्त्रालयले निजी आवासको पुनर्निर्माणसम्बन्धी कामलाई व्यवस्थापन गर्ने, स्वास्थ्य संंस्था र सरकारी भवनहरूको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र शिक्षा मन्त्रालयले विद्यालयको, विश्वविद्यालयको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र स्वास्थ्य संस्थाको पुनर्निर्माणसम्बन्धी कामलाई व्यवस्थापन गर्नेछ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २० औं निर्देशक समितिको बैठकले प्राधिकरणले हालसम्म गरेको कामलाई धन्यवाद दिँदै पुनर्निनिर्माणमा बाँकी रहेका कामलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ, अब पुनर्निर्माण प्राधिकरणबाट भएका कामहरूमध्ये विशेष गरेर विपद् व्यवस्थापनसम्बन्धी कामलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट समन्वय, अनुगमन र समग्र कामको व्यवस्थापन गर्ने गरी जानेछ भने थप अन्य निकाय, सहरी विकास मन्त्रालयले निजी आवासको पुनर्निर्माणसम्बन्धी कामलाई व्यवस्थापन गर्ने, स्वास्थ्य संंस्था र सरकारी भवनहरूको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र शिक्षा मन्त्रालयले विद्यालयको, विश्वविद्यालयको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र स्वास्थ्य संस्थाको पुनर्निर्माणसम्बन्धी काम सहरी विकास मन्त्रालयले गर्नेछ, यो ढंगले पुनर्निर्माणको कामहरूलाई हस्तान्तरण गरेर अगाडि बढ्ने खालको निर्णय भएको छ।’
२०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले क्षति पुर्याएका भवनहरूको पुनर्निर्माणको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो।