काठमाडौँ: आइतबार मध्य रातिदेखि परेको अविरल वर्षाले काठमाडौँ उपत्यकाको १०० भन्दा बढी स्थानमा डुबान तथा कटान भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरीले रातीदेखिनै झन्डै २०० प्रहरी परिचालन गरेको र बिशेषगरि धोबीखोला र बल्खुको टुकुचा खोलामा आएको बाढीमा परी उद्धार कार्य जारि रहेको मेट्रोका प्रहरी प्रबक्ता सुशील सिंह राठौरले जानकरी दिए।
मनोहरा खोला किनारमा रहेको मूलपानीको बस्ती, काँडाघारी र बल्खु क्षेत्रमा उद्धार कार्य जारी रहेको एसपी राठौरले बताए । ‘अन्य ठाउँमा डुबानको समस्या हटेको छ’ एसपी राठौरले भने–‘मनोहरा खोला किनारामा उद्धार भइरहेको छ ।’
अविरल वर्षाका कारण काठमाडौँको खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेको थियो । डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन ।

गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेको थियो । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले १ सय ३८ जनाको सकुशल उद्धार गरेको छ । कुल ३८२ घरधुरी डुबानमा परेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।