काठमाडौँ:
उत्तरी छिमेकी चीनले नेपाललाई थप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा दिने भएको छ।
चिनियाँ राजदूत होउ यान्छीसँग बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको भेटवार्तापछि राज्यमन्त्री उमेश श्रेष्ठले यसको पुष्टि गरेका हुन्।
उक्त भेटमा चिनियाँ सरकारले थप १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने निर्णय गरेको जानकारी राजदूत यान्छीले दिएकी हुन्।
चीनले नेपाललाई दिन लागेको १० लाख डोज कोरोना खोप सिनोभ्याक कम्पनीले उत्पदान गरेको हो। यो खोप ल्याउन दुई छिमेकी देशका अधिकारीहरु छलफलमा रहेका छन्।
मन्त्री श्रेष्ठका अनुसार नेपालमा आउनसक्ने कोरोना भाइरसको तेस्रो लहरसँग जुध्न आवश्यक पूर्वाधार निर्माणका लागि चीनले ९ करोड २४ लाख रुपैयाँ (५० लाख चिनियाँ युआन) पनि अनुदानस्वरुप उपलब्ध गराउने भएको छ।
यसैबीच चिनियाँ जनमुक्ति सेनाले पनि नेपाली सेनाका लागि तीन लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा गरिसकेको छ।
यसअघि पनि चीनले नेपाललाई कोरोनाविरुद्धको खोप अनुदानमा दिएको थियो। चीनले १० लाख डोज खोप अनुदानमा दिएको थियो। सरकारले भेरोसेलको अन्य मात्रा पनि चीनबाट किनेर ल्याएको छ।