काठमाडौँ:
नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले छिट्टै नेपाल र भारतबीच उच्चस्तरीय राजनीतिक भ्रमण हुने बताएका छन् । भारतसँगको सम्बन्धलाई अझ सुमधुर बनाउन सरकारी स्तरबाट पहल भइरहेका उनले बताए ।
उनले भने, ‘अहिले रेल्वे वार्ता भएको छ । सीमा सुरक्षा छलफल सुरु भएको छ । विषयगत र विभागीय छलफलहरुले स्वरुप लिएपछि उच्च तहको वार्ता हुनेछ ।’ डा.महतले भारतीय जनता पार्टीको विदेश विभागका प्रमुखको मैत्रीपूर्ण निमन्त्रणमा आफ्नो नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल र भारतको सम्बन्ध सुमधुर बनाउने कार्य गरेको बताए ।
उनले नेकपा एमालेको नेतृत्वमा रहेको पूर्ववर्ती सरकारले भारतसँग देखिएका समस्यालाई सडकमा पसार्ने गरेको तर आवश्यक ठाँउमा चूँ पनि नबोलेको बताउँदै काँग्रेसले वार्ताको माध्यमबाट समाधान खोज्ने नीति लिएको पनि दावी गरे ।
उनले भने, ‘द्धिपक्षीय हितका विषयमा कुरा उठाउने, राष्ट्रिय स्वार्थ र आवश्यकताका विषय पहिचान गर्ने छलफल गरेर निष्कर्षमा पु-याउने काम परराष्ट्र मन्त्रालय र सरकारको हो । तर जिम्मेवार राजनीतिक दलका जिम्मेवार पदाधिकारीहरुको भेटवार्तामा राष्ट्रिय चासो र चिन्ताका कुरा उठ्नु स्वभाविकै हो । यसबाट अलग हुन सकिदैन ।’
उनले पूर्ववर्ती सरकारले संविधान उल्लंघन गर्दै अधिनायकवादी शैलीमा राज्य संचालन गर्न खोजेपछि संविधान र लोकतन्त्रको संरक्षण गर्नका लागि काँग्रेसको नेतृत्वमा सरकार बनेको बताए । यसप्रति भारत चिढिनुपर्ने कुनै कारण नदेखेको बरु सद्भाव नै रहेको उनको भाइ छ । नेपाल र भारतबीच देखिएको सीमा विवाद (लिपुलेक कालापानी र लिम्पियाधुरा)को विषयमा बूँदागत रुपमा उठाएको महतले बताए ।