काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेकी छिन् ।
राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति छिन्। राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष समारोहमा उनले रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन्।
राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको शपथ पनि गराइन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित थियो ।
मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत अन्य विशिष्ट महानुभावको समारोहमा उपस्थिति थियो ।
सरकारले साउन २४ गतेदेखि रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो ।
उनले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आजै नेपालको ४३ औँ प्रधानसेनापतिका रूपमा पद बहाली गर्नुभयो । विसं २०१७ भदौ २५ गते लमजुङको गाउँशहरमा जन्मिनुभएका रथी थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए ।