काठमाडौँ: सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सोमबार न्यायपालिकामाथिको विश्वास अभिवृद्धि आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।
संसदीय सुनुवाइ विशेष समितिको आज बिहान बसेको बैठकमा आफ्ना विचार राख्दै मिश्रले आफु छोटो कार्यकालका लागि भएपनि न्यायालयको शाख अभिवृद्धि गर्नेमा आफ्नो प्रमुख ध्यान हुने बताए ।
‘म लामो समय त अदालतमा रहन्न, तर जति समय रहन्छु, न्यायालयको शाख अभिवृद्धि गर्नु मेरो प्राथमिकता हुनेछ,’ मिश्रले भने ।
प्रधानन्यायाधीश भएमा मिश्र आगामी पुस १८ सम्म सर्वोच्चको नेतृत्वमा रहनेछन् ।

“अदालतप्रति जनविश्वास अभिवृद्धि गर्न र भ्रष्टाचार रोक्न मेरो पूर्ण प्रयास हुनेछ,” उनले संसादहरुको प्रश्नको उत्तर दिंदै भने ।
आफूले १७ हजारभन्दा बढी मुद्दाको फैसला गरेको भन्दै उनले आफूले महत्त्वपूर्ण फैसलाहरूबारे पनि उल्लेख गरे ।
आमाको नामबाट नागरिकता दिने, होर्डिङ बोर्ड हटाउने लगायतका फैसला आफ्नो कार्यकालका महत्त्वपूर्ण फैसला भएको उनले समितिमा सुनाए।
संवैधानकि परिषद्ले सिफारिस गरेका मिश्रको नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदनमा भएमा राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछिन् ।