काठमाडौं: सुनुवाई सकिएको ४ दिन भईसक्दा पनि संघीय संसदको संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशी माथिको निर्णय सुनाउन सकेको छैन ।
जोशीमाथि परेका उजुरीमा छलफल गरे निर्णय मात्रै सुनाउन बाँकी राखेको समितिको बैठक पटक पटक स्थगित हुँदै आएको छ ।
समितिको बैठक आज बिहान बस्ने भनिएता पनि दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर हुनुभएको र समितिमा आवश्यक छलफल गर्न पनि बाँकी भएको हुँदा बैठक स्थगित भएको समितिका सदस्य सांसद निरु पालले जानकारी दिए ।
जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको हुँदा आन्तरिक र थप छलफल गर्नुपर्ने भएको हुँदा बैठक स्थगित भएको हो ।
भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
आईतबार बिहान साढे ८ बजे बोलाईएको बैठक पनि सोमबार अपरान्ह २ बजे सम्मका लागि स्थगित गरिएको छ ।